जब तिमी थाह पाउँदैनौ / रिता साञ्चियोनी / सुमन पोखरेल
म तिमीलाई हेरिरहन्छु
जब तिमी जान दिन्छौ र थाह पाउँदैनौ
छायाका खेलमा बिलाएको तिम्रो मुहारको आवरणले
तिम्रा हजारौँ अनुहार बनाउँछ ।
मेरो नजर तिम्रा आखाँमा गएर विश्राम गर्छ
टाढा कतै अनुभूत हुन्छन् 
घोलिँदै गरेका ऐनाहरू
र तिनमा बिलाएको 
एउटा थर्थराइरहेको आकाश । 
म आफ्नो स्वास रोक्दछु
तिमी नबिलाऊ भनेर ।
तिम्रो सौम्य चालढाललाई हेरेर
कहिल्यै पनि अघाउँदिनँ म
तिम्रो सोचाइको एउटा स्पर्शलाई समाउन 
र तिमीले आफ्ना सपनाहरूलाई बाँचिरहेको बेला 
तिम्रो रगतको फैल्याइलाई समाउन ।
म गोडाका औंलादेखि नै सङ्कोचित हुन्छु
डेग थाम्छु 
र नडराई सुम्सुम्याउँछु तिम्रा शीरमा सुशोभित
घुङ्ग्रिएका मखमली केशलाई ।
एउटा सुगठित मूर्ति बनेको थाह पाउँछु
स्पर्श गरेर 
त्यसको रुपरेखा आँकलन गरेर,  
हृदयको एउटा पृष्ठमा
"टुनामुना" भन्ने शब्दका मुन्तिर । 
...........................................................................
(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनूदित) 
 
 
	
	

