जब मानवताको मूल्य छ बिक्री कौडीमा !! / कुलमणि देवकोटा
ईश्र्वर-प्राप्ति हुँदैन रे,
जब मानवताको मूल्य छ बिक्री कौडीमा !
मानव जड रे !
जो घृणित लांछना लांछित जगतीका गल्ली गल्लीमा,
रुन्छन्, मुर्दा हाँसो झिक्छन् भोक खटाउन,
ती मानिस हैनन्, ईश्र्वर हुन् ईश्र्वर साक्षात् !
जन्मदिंत, शोषित, पीडित, निष्पीडित,
जो घुम्छन् झुत्रो झोली, रित्ता हात पसारी,
शत शत पातक भागी,
मानव पापी !
जब मानवले मानव मानवताको मूल्य नजानी,
अथवा जानीजानीकन पनि आखा चिम्ली
यो संसूति किन जबनोस्, शान्ति र सुखको खानी,
तर त्यो केवल दुइ दिनका लागी;
ईश्र्वर, त्यो ईश्र्वरता मिट्टीमा रुपित
उद्धत, मानिसका पद्तलले प्रतिफल मर्दित
गरी रहेको हुन्छ, हुनेछ, छ अजन्न रोदन
त्यो तेस्रो दिनका लागि अवश्य छ क्रान्ति प्ररोहण
ईश्र्वर जस्तै यो काव्य त्रिकालवाध्य छ मानव,
ए ईश्र्वर खोज्ने पापी मानव !
जब स्वान्तः प्रेरित मानवको मानवताले
मानवको मानवता चिन्ला
स्वागत गर्ला अनि सत्कार,
जब मर्लान् विभ्राट् शून्यहरुमा लागि सदाका
संसूतिका भित्र र बाहिरका चित्कार !
जब शान्त र सुखमय सुन्दर वन्ला यो संसार
पापी मानव
तब ईश्र्वर मिल्ला ईश्र्वर तैंले खोजेको ।
(‘प्रभात‘ वर्ष २ अंक १)
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)