भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जलप / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सारङ्गीमा मुटु रेटिने
कैयन् प्रिय वियोग छन्
त्यो ढोकाभित्र
जसलाई सम्झेर
हृदयमा
करुण लहरहरू उठिरहनेछन्
 
अबफेरि गाइनेहरूले
दाउनेछैनन् केनैदिन
संघारबाट उभिएर
त्यो ढोकाको वीरगाथा
 
शताब्दीयौँको कालरात्रिमा
अजङ्गको त्यो ढोकाभित्र
कैयन् मृत्यु-उत्सवहरू मनाइए
अन्धवेगको वीरपूजनमा
कैयन् ताण्डव रातहरू रचाइए
 
जीवनका आशाहरू लहराउने
त्यस्तो कुन मीठो सङ्गीत गुञ्जियो र !
त्यो ढोकाभित्र
जसलाई सुनेर सृष्टिमा
नयाँ फूलहरू फक्रन सकून्
 
अबफेरि नगर्चीहरूले
आफ्नै छाती उधारेर
बजाउने छैनन्
साइतको कुनै दिन
त्यो ढोकाभित्रका
अतिरञ्जित धूनहरू
 
रात छिप्पिनुपहिल्यै
खोलिदिएको भए
ढोका
आज आफ्नै घर
यत्ति विरानो हुने थिएन ।