भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जाडो, आगो र सपनाहरु / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जाडो बढिरहेछ
निरन्तर जाडो बढिरहेछ
मान्छेहरू यसबेला आगोको खोजीमा छन् ।

जाडो सहिनसक्नु भएपछि
म खोज्दै हिँडे आगो
यो देशको हरेक कुनाकाप्चासम्म
मान्छेहरू सबै यस बेला आगो ताप्न चाहन्छन्
तर, कसले ल्याउँछ आगो –
यो एउटा गम्भीर प्रश्न छ ।

सहिनसक्नु जाडो खप्नमै अभ्यस्त छन् मान्छेहरू
जाडो यो देशको
यो परिवेशकै विशेषता बनिसक्यो
जाडो यति शक्तिशाली भएको छ कि
आगो स्वयं हिउँझैँ चिसिन बाध्य छ यसबेला
लाग्छ जाडोकै सिरक आढेर
जाडोकै सिरान ओच्छ्याएर मध्यन्रि्रामा छ आगो ।

ठीक त्यसै बेला
साक्षात प्रमिथियसको भेषमा
शक्तिशाली आगो लिएर उपस्थित भयौ तिमी मेरो सामु
जब बेस्सरी खोजिरहेथेँ म आगो ।

तर, तिमीले ल्याएको आगो कहाँ रहेछ र जाडोका विरूद्ध –
जाडो छल्न जब पुगेको थिएँ तिमीले ल्याएको आगोनिर
हेर्दाहेर्दै त्यो त विनाशकारी डडेलो भइदियो
हेर्दाहेर्दै जलाइदियो त्यसले मेरा कलिला सपनाहरू ।

जाडो बढिरहेछ
सहिनसक्नु गरी जाडो बढिरहेछ
तर, आगो जाडोका विरूद्ध होइन
जीवनकै विरूद्ध दन्किरहेछ ।