जामाचो / ईश्वरवल्लभ
म एकफेरा फेरि ओर्लेर तिमीलाई हेर्छु, जामाचो
तिम्रो त्यो अग्लाइ
पहाड हुन खोज्ने इच्छा
म यस फेदीबाट अनुभव गर्छु ।
म मेरा घरहरु
र घरका क्षितिजहरुसित सम्मिलित भैसकें
मेरा यहाँका नदी-नालाहरुसित सम्मिलित भैसकें,
म तिम्रो त्यो उचाइ मात्र देख्छु
ती वन र बुटाहरु र हरियोपनले चुलिंदै लागेको उँचाइ
मैले अघिमात्र जीउभरि छोएको जामाचो, म देख्छु :
त्यहाँ कोही पनि थिएनन् मेरा आफन्तहरु
त्यसो त् होइन भनूँ सब जना थिए ।
उँचाइ थियो
उँचाइदेखि तल निचाइको कल्पना थियो ।
तर, त्यहाँ मन थिएन, जामाचो,
तर, यहाँ पनि मन छैन, जामाचो,
म त्यसैले एकोहोरो त्यो मन खोजिरहेको छु ।
कहीं जामचोमा त हराइन मन ?
जामाचो त्यसैले मन हराएको अनुभव हो ।
अग्लाइजस्तै, जो जहिले पनि होचाइको कल्पना हो
मेरो अस्ताउन आँटेको सूर्यलाई छेकेर
कुहिरोमा अल्झिरहेको देख्छु-जामाचो ।
म कतै याद गरुँला जामचोको जामाचो शिखर
म कतै भनुँला
जामचोको कथा जामचो शिखर
म कतै गाउँला जामाचो,
तैपनि एकोहोरो दुखिरहेछ मन हराएको पीडा
तिम्रो शिखरमा पनि अभावको एकान्त भैरहेको पीडा
जामाचो कहिले सुन्दर हुनसक्छ, म सोच्दछु,
ती सिंढीहरु झैं हामीले बिस्तारै ढुंगा छुँदै ओर्लेका
कि मेम्नाले तिर्खा लागेको बेलामा पानी खाएकोजस्तो
जामाचो ओर्लिंदा रुखैरुखका सिंढीहरु पनि बनेका थिए
– फेरि बन्लान्
त्यसबेला कुहिरोको गीत बज्लान् पात छुँदै छुँदै
हातले छुँदै पन्छाउँदै हिंड्नेछौ बादलहरुलाई, जामाचो ।
अनेकौं आँखाहरुले कुरिबसेका दृश्यहरु
अनेकौं फेदीहरुलाई विजय गरेर हाँसिरहेका उकालोहरु
बिर्सन्न जामाचो, तैपनि बिर्सन्न,
जामाचो, म तिमीलाई बिर्सन्न
अब आएँभने म मन त्यहाँ खोज्दिन,
म मेरो मन त्यहींबाट लिएर आउँछु ।
तिम्रो त्यो पवित्र उँचाइदेखि मेरो काठमाण्डु हेर्न
अनि त्यसलाई मुटुभरि माया गर्न