जिजीविषा / आरती तिवारी / सुमन पोखरेल
बटुल आफूभित्र 
मलाई बाहिर ल्याउने साहस,
पछि
म आफैँ लड्ने छु 
आफ्नो अस्तित्वको लडाइ ।
जोगाउनु छ तिमीले, मेरो आज
जितेर भोली के होला भन्ने डरलाई ।
अलिकति ठाउँ चाहिएको छ मलाई
हुर्कनका लागि 
तिम्रो कोखमा। 
पछि
म आफैँ खोज्नेछु 
आफ्नो विस्तारको बाटो
आफ्नो विकाशको पथ ।
सम्पूर्ण शक्तिले
चलमलाउने छु, खेल्नेछु
र अनुभुत गराइरहनेछु तिमीलाई
मेरो अस्तित्वको।
कोपिला र सुवास भएर
मुस्कुराउने छु
तिम्रा सपनाहरूमा ।
मेरो सौन्दर्य र कौमार्यले
कुल्च्याइ सहनुपर्ने डर देखाएर 
भ्रमित गरिनेछ तिमीलाई।
नहार्नु हिम्मत तिमी
मलाई बढन दिनु 
र बाँच्नु
म बढ्दै गएको अनुभवको आनन्दमा । 
पछि 
आफ्नो भागको धर्तीआकाश पाउनबाट 
रोक्न सक्ने छैन कसैले मलाई,
आफैँ बनाउँछ आफ्नो बाटो
नदीले ।
खेल्नेछु म यामहरूसँग;
तैरिने छु, उफ्रिने छु, 
र बाँच्नेछु 
आफ्नो स्त्रीत्वको सम्पूर्णतालाई ।
हेर त !
पलाएका छन् ढुङ्गाकै कापमा पनि
अनेकौँ बिउवाका मुना ।
ती त तिनका अंश नै पनि हैनन् 
र पनि
जोगाएका छन् तिनले
आश्रय दिएर,
जितेर डरलाई 
दिएका छन् अभयदान ।
अनि म ?
म त तिम्रै अस्तित्वकी 
एक अंश हुँ, आमा !
सृष्टिको एउटा अनुपम उपहार हुँ
आउन देऊ मलाई आफ्नो काखसम्म
आफ्नो संसारमा ।
र बाँच यो गर्विलो क्षणलाई 
एउटा विजेताको जसरी । 
	
	