Last modified on 16 जुलाई 2017, at 16:12

जीवन खेलका सेता ट्रयाकहरु / सविता गौतम दाहाल


धेरै टाढा, अर्कै पहाड देख्नु, अर्कै मैदान पुग्नु
नयाँ अनुहार, नयाँ परिवेश, नयाँ हावापानी विस्तारै म नजिक आएपछि
टाढिएको, यथार्थ वोध भएको छ ।

एकदमै प्रिय शहर
जहाँको रंगशाला, संगै दौडिएका सेता ट्रयाकहरm अझै निख्खर सेता देख्छु
भकुन्डो हिर्काएर नेट कटाउदाँको हुटिङ् आवाज कानमा उस्तै गुन्जिन्छ
शिल्ड लिएर फर्कदाको खुशी, विजय यात्राका अविर, अझै अनुहारमा छाम्न पुग्छु
यो क्षण त्यागको अर्थ वोध भएको छ ।

आशा लाग्दो खेलाडी, उदाउंदो खेलाडीइत्यादिका उपाधि भित्ताभरि छोडेर
अपरिचित मैदानवाहिर खाजाको आधुनिक ठेला अगाडि
यो समय, जीवन खेलको अभ्यास वोध भएको छ ।

फेरिएका परिदृश्य, छुटेका हस्ति साथहरु
लडाई गर्दै, अगि वढदै सम्राट वन्न पठाइएका यज्ञका घोडामा
जन्मभूमिको झण्डा, अर्कै भूमिको हावाले फहराएपछि
यो प्रहर, जीवनचक्रको मूल्यवोध भएको छ ।

म जन्मे हुर्केको शहर वरिपरिको छातिभरि
फुलेका होलान् तोरीका पहेंला फूल
रायोको साग हरियै सप्रेको होला ग्वाली छेऊ
आमाहरु कालो दाल पकाउदै गोलभेडाको चट्नी सिलौटोमा पिध्दै होलान्
र हुर्काउदै होलान नयाँ नयाँ कलीला खेलाडीहरु
यो पल, आउंदो पुस्ताको सुनौलो भविस्यवोध भएको छ ।

कतै मरुभूमिको वालूवामा टुंगिएपनि, मेरो खेल यात्रा
पराइका हजूरआमा हजूरवाको स्याहारमा वितेपनि, मेरो यौवन
मैले वनाएको परिकारले जितेपनि गोराहरुको मन
मैले चलाएको ट्रकले गन्तव्यमा पुगेपनि, पठानदाइको बन्दूक
मैले बगाएको पसिनाको एक एक थोपा पार्सल गरेको छु, मेरै शहर
परिश्रम र पर्खाइमा वहेका आँशुका एक एक मोती खामवन्द गरी पठाएको छु, उही ठेगाना ।

जब फोनमा सुन्छु
शहरको मैदानमा धूलो उडाउंदै
खेल अभ्यासमा छन् छोराछोरीहरु, भाइवहिनीहरु
लाग्छ, कर्तव्यपरायण वनेको भएको छ सार्थक
हृदयको एकान्त, वलिरहेको छ, जीवन दीप
यो घडी, एउटा अनौठो अपरिभाषित न्यानोवोध भएको छ ।