भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन विरुद्धको सङ्गीत / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कसले बजायो —
मान्छेको बस्तीमा एकोहोरो दुःखको बाँसुरी
मैले पनि
थुप्रै सपनाहरु लिएर तिमीसँगै दाँजिदै
क्षितिज नियालेकी थिएँ घामको यात्रामा
समयको बैँसलाई
कुमारी आमा बनाउँदा
देश छिया–छिया छ/ बस्ती उदास–उदास छ ।

कसले बनायो रगतको समुद्र
अचेल —
निरस छ समुद्रका सुसाइहरु
मैले पनि त्यस दिन आकाश नियाल्दै
तिमीसँगै समुद्रको फैलावट
नियालेकी थिएँ यात्रामा
आदिज्ञान प्राप्त स्थानबाट
हृदयको कलिलो जन्महरुलाई
म — फेरि मृत्यु बाँड्न चाहन्न

म,
राजमार्गमा उभिएर प्रेमप्रदेश नियालिरहेछु ।
मान्छे —
सपनामै भए पनि प्रेमको भोको हुन्छ
मान्छे —
सपनामै भए पनि शान्तिको कामना गर्छ
ओ जिजस !
ओ रावण !
ओ बुद्ध !

आऊ चिर र हेर मान्छेका मुटुहरु
आऊ चुम र बुझ आँखाका भाषाहरु
त्यहाँ पाउने छौ तिमीले
अभिमानको विरूद्धमा सामिप्यका जुलुसहरु
बन्दुकको विरूद्धमा राष्ट्रियताका प्रेमहरु
कसले बजायो ?
मान्छेको बस्तीमा जीवन विरूद्धका सङ्गीतहरु ।