भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जुनेली रातमा निर्झर / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सतत झर्दछ निर्झर झर्झर, छलकिई छहरा-जल छल्छल,
कति मनोहर यो मधर स्वर, बजिरहेछ कि अन्तर अन्तर !
कत्ति लता, तरू औ गिरि-गह्वर, हरित विस्तृत निर्जन जंगल,
कसरि निर्झरको स्वर प्यूँदछन्, सुखद, सुन्दर जीवन गर्दछन् !
रजत-रञ्जित भूतल सुन्दर-शशि-ग्रहादि लता-तरु-निमित्त,
जगत निर्झरमा पनि छ स्थित, कुन पर्‍यो कसमा प्रतिविम्बित, !
चपलता अनि सुन्दरता लिई जगत ज्योतित आँगनमा घुमी
सरस शान्त सुधा रस निर्मल पिउन पाउनु धन्य छ निर्झर !
छ यत्तिको सुख चैन मजा यहाँ, तदपि निर्झर विह्वल सर्वदा,
उदधिसाथ म मिल्छु भनी भनी बढिरहेछ सवेग उसै पनि ।
.........................................
शारदा, १११, फाल्गुन १९९१