जुम्ला / विमल निभा
उज्यालो कतै छैन
स्वप्न हराएको छ
के तपाईं अन्धकारको खुराक भएको
बस्तीमा जानुभएको छ ?
अपराधीझैँ उभिएका छन्
नाङ्गा पहाडहरू
जोसँग खान दिनलाई केही छैन
जे छ त्यो बाँझो भूमिझैँ चारैतिर
फैलिएको छ
मानिसहरूको मुटु
गाई–गोरु र भेडाहरूका करुण करङमा
धड्किरहेछ
र दुई चिसा हातहरू स्पर्श गर्न
निरन्तर अघि बढिरहेछन्
गाउँहरूलाई छोएर बगिरहेछ
नदी
जहाँ साना–ठूला ढुङ्गाहरू
एकआपसमा टकराइरहेका छन्
तर आवाज कतै छैन
के जुम्ला मौन छ ?
रोटीको अनुहार फेरिएको छ
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन
छचल्किएर
बाहिर निस्किएको छ
यसपालि जाडो धेरै छ
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको
शरीर
तामाझैँ चम्किरहेछ
जुम्लामा मौसमको कुनै ठेगान छैन
एकछिनमै जङ्गलको हावा सिटी बजाउन थाल्छ
के तपाईंले फाँसीको तख्ताझैँ हल्लिइरहेको
सल्लाको हाँगालाई हेर्नुभएको छ ?