Last modified on 28 जुलाई 2017, at 23:02

जूनको बजार / विमला तुम्खेवा


रक्तिम साँझहरुले
बिना निम्तो ल्याएको खल्लो याद
यादहरु कति गाढा हुँदारहेछन् जिन्दगीमा
इतिहासहरु सधैँ यादहरुमा बाँचिरहेछन्
म,
बिना घटनाको दुर्घटनाहरुले पिरोलिएकी छु
रातले जन्माएको निस्तब्धतासँग
कसरी .....
जिन्दगीलाई जोड्न सकिन्छ
यहाँ —
मानिसहरु डुब्न लागेको क्षितिज हेरेर
चोटहरुले
घाइते बनाएको जिन्दगी हाँसिरहेछन्
चौक —
विधुवाझैँ मौन छ
भद्दा रातहरुले / भद्दा यादहरु लिएर
मसँग मेरो खुसी खोसेर निस्तो रात दिने गर्छन्
अमानवीयताका निर्मम छुरीहरुले
आस्थाको सगरमाथा ध्वस्त पारिदिँदा
क्षितिजको एउटा किनारामा
मृत्युका बथानहरु जीतको उत्सव मनाइरहेछन्
अक्षरजस्तै —
नीलो, कालो र गाढा हुँदारहेछन्
मान्छेसँग गाँसिएका कतिपय अतीतहरु
मान्छे —
ती खाटाहरुलाई
जतनसाथ सम्झनामा किन राखिदिन्छ ?

जूनको बजारमा
माया बेचियो रे !
मनहरु किन आन्दोलित हुँदैनन्
एउटा —
कविको डायरीमा धेरै–धेरै जिन्दगीसँग
गुनासो पोखिएको सायरीजस्तै
कति बेवास्ता छ
मान्छेका भावना यस संसारमा
यतिखेर —
म दुखेको रातसँगै अक्षरहरु कोर्दछु
म दुखेको रातसँगै अक्षरहरु चुम्दैछु ।