जून धर्तीमा झारूँ म / सुमन पोखरेल
तिम्रो सौन्दर्यलाई नजीकबाट निहालूँ म
रहर पलायो तिमीलाई आफैँ सिँगारूँ म
दिनरात कुरिरहेँछु आउली तिमी भनी
आउँछ्यौ कि प्रतीक्षामै जीवन बिताऊँ म
यता भीर छ, उता पैह्रो कस्तो ठाउँ हो यो
मनको भारीलाई कहाँ लगी बिसाऊँ म
लुकेर धड्किरहन्छ मेरो घाइते मुटु
कति छन् मनमा चोट कसरी देखाऊँ म
सङ्कोचलाई थन्क्याएर आऊ मेरो छेउ
यसरी सजाऊँ तिमीलाई, उसरी सजाऊँ म
केहीबेर बसिदेऊ तिमी मेरा गजलछेउ
यी गजललाई तिम्रो प्रशंसा लेखाऊँ म
भनिदेऊ तिम्रो नाम, मलाई तिम्रो नाम भन
तिम्रो नामले यी धर्ती आकाश गुन्जाऊँ म
तिमीलाई सम्झेपछि कसोकसो हुन्छ मलाई
बताऊँ के तिमीलाई केके पो सुनाऊँ म
बसन्तको चरोजस्तै भएको छु तिम्रा सामु
यिनै केशमा गुँड बनाई रात कटाऊँ म
एउटा सानो दाग लगाइदिऊँ कि गालामा
र, साँच्चै नै आज जून धर्तीमा झारूँ म
मुस्काए नलजाऊ, लजाउँछ्यौ त नमुस्काऊ
नत्र कसरी सम्हालूँ मन, दुबै कसरी खपूँ म
आँखाबाटै बोल्न सिक्दैछु म तिम्रै जसरी
तिमी बुझिदेऊ केही इसारा, केही बुझूँ म
हर रात आई मलाई केके गरी जान्छ्यौ
कति भेटूँ सपनामा, बिपना मै भेटूँ म
वासबिना फूलको बैँस कसले थाह पाउँछ ?
तिम्रो रूपमा प्रीत मिसाई सुवास छरूँ म
छ प्रेमको घोचाइ नै सबैभन्दा मीठो सुमन !
यही काँडालाई तिखारूँ, अझै मिठास थपूँ, म