भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जून र आँधी / महेश मास्के

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नरिसाऊ जून
बिर्सेको छैन मैले
तिम्रो कोमल स्पर्श
तिम्रो स्निग्ध प्रकाशमा
मुस्कुराइरहेको फूलको यौवन
तरेलीमाथि टुप्लुक्क बसेर
दुबै हात च्यू डोमा अड्याएर
एकटक क्षितिजलाई हेरिरहेका शीतका थोपाहरू
र यी सबैको साथ पाएर
सुगन्ध झै चारैतिर छाएर
जीवनको गीत गुन्गुनाई रहेको हावाको नशालु आवाज

बिर्सेको छैन मैले
तिमीलाई एकपल्ट छुने रहर
तिम्रो सौन्दर्यलाई
मायालुको अनुहारसंग दाँज्ने रहर
स-साना केटाकेटीहरूका चहकिला आँखाहरूमा
तिम्रो प्रतिविम्बको टहक खेलेको हेर्ने रहर

नरिसाऊ जून
बिर्सेको छैन मैले
तिम्रोसाथ बनाएको कल्पनाको संसार
तर अहिले यो देशमा
एउटा भयावह कालो बादल
तिमी र म बीच तेसिएको छ

म मात्रै होइन
क्षितिजलाई अंगालोमा बाँध्न खोज्ने
प्रत्येक व्यक्तिको शिरमाधि अतंक बनेर झुण्डिएको छ
यहाँ उज्यालोको गीत गाउनु हुँदैन
यहाँ तिमीसंग प्रित लाउनु पनि हुँदैन
मरूभूमि र तातो बालुवा अस्वीकार गर्नेहरूमाथि बादल
आगो बर्साउन तम्तयार भएर उलिएको छ ।
भर्खरै मात्रै थाहा पाउँदैछु
यो बादल धेरै अघिदेखि यहाँ रहेछ
यथार्थको धरतीमा
सपनाको बीउ छर्नेहरूको लाशलाई
धेरै अधिदेखि अन्धकारको पर्दाले ढाकेको रहेछ
वास्तवमा
यसलाई त्यतिबेला मात्र देख्न सकिने रहेछ
जब जून छुने रहरले
धरतीमा पाइला टेक्दो रहेछ

त्यसैले
अहिले तिमीलाई माया गर्नेहरू
आँधी र बेरीका गीत गाउँदैछन्
रगत र आँशुका शब्दहरूमा
पीडा र आक्रोशको संगीत भरेर
 ... ... अझै पनि रिसाउछ्यौ जून
आँधीको गीत गायो भनेर ?

०००

२७-७-२०४२ काठमाण्डौ
प्रकाशित 'युगधारा' साप्ताहिक