भर्खरै कोलाहल/होहल्ला गरेर 
तिनको असन्तुष्टीमा एउटा नयाँ महाभारत सकेर 
कसरी-कसरी 
जेनी सुतेकी छे ! 
नानी सुतेकी छे !! 
यहाँ हल्ला नगर !!! 
तिमीहरुको हल्लाले ऊ ब्यूँझन सक्छे। 
तिमीहरु कोलाहल नबन ! 
ऊ फेरि श्री ३ भएर हल्ला गर्न सक्छे। 
आज दिनभरि नानीले 
भाडाकुटी/बनभोज खेलेर 
राष्ट्रिय संस्कृतिका उदाहरणहरु 
लाखे नाच/घोडे जात्रा 
पल्टन जात्रा/गाई जात्रा इत्यादि 
खेलहरुको लाममा 
धेरै बेरसम्म खेलेकी छे। 
अहिले नानी सुतेकी छे। 
ए, हल्ला गर्नेहरु ! 
हल्लालाई लगेर खबरकागजमा देऊ 
त्यो राष्ट्रिय खबर हुन सक्छ। 
तिम्रो हल्लाहरु उम्मेदवारलाई देऊ 
आम निर्वाचनको घोडादौडमा हल्ला दौडिन सक्छ। 
अथवा जनमतको तैयारीमा हल्लाहरु 
समर्थक विरोधी दुबैको  
हल्लाको पोष्टर भएर भित्तामा टाँसिन सक्छ। 
तर जेनी सुतेकी छे। 
यहाँ हल्ला गर्न मनाही छ। 
हो हल्ला/कोलाहल ऊ आफैँ नै हो। 
बन्देज छ तिमीलाई ! 
नानी सुतेको बेला 
हिजोआज खबर केही छैन। 
त्यसैले खबर नभएको अखबारपत्रले 
खबरकागजको राम्रो भ्रम दिएको छ। 
त्यो खबरकागजमा नानी सुतेको खबर छैन। 
अथवा हल्ला/कोलाहल मच्चाउने 
एउटा सिङ्गो खबरकागज ऊ आफैँ हो 
कसैलाई केही थाहा छैन ।
ए सपनाहरु ! 
तिनको निद्रालाई तिमीले नछेक !! 
सपनाहरु, कतै तिमीले तिनको निद्रामा 
अतिक्रमण त गरेका छैनौं? 
तिनको निद्राको स्वायत्ततामा 
कतै कसैले पर्खाल लगाउनु त खोजेन? 
तिनको निद्रामा कतै कसैले तन्द्राका अभेद्य जंगलहरु रोपेर 
विकासका बिज्ञापन त बनाएन, तिनको निद्रालाई? 
नानी निद्रामा मस्त छे/जेनी सुतेकी छे। 
हल्ला निषेध छ, बन्देज छ, मनाही छ। 
नानीसँगसँगै आमा 
आमासँगसँगै परिवार 
र परिवारसँगसँगै मध्यरातमा 
यो देश नै सुतेको छ। 
ब्यूँझाउँने विकासे भालेहरु 
बेला/कुबेला बास्ने गर्छन्। 
अलार्म लगाउने थोत्रे घडी 
घडीसाजकहाँ बिग्रिएर थन्किएको छ। 
यी सबैको अर्थ नानीलाई के थाहा? 
जेनी सुतेकी छे ! 
नानी सुतेकी छे !! 
ऊ 
र 
उनको निद्रासँगसँगै 
परिवार, समाज, वातावरण र देश नै सुतेको छ। 
सावधान ! सावधान !! 
यो बेला 
हो हल्ला नगर ! 
बन्देज छ, मनाही छ 
र निषेध छ 
जेनी सुतेकी छे, नानी सुतेकी छे। 
जेनी जस्ता अहिले धेरै धेरै नानीहरु सुतेका छन्।