भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जोखिमकै छातीमा / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जोखिमसित जुझ्न सक्ने
एक छाती आँटको पहरामा नै
फुटिनिस्किन्छ सृष्टिको सेक्मुरी फूल
चुनौतीहरूसित पौंठेजोरी खेल्न सक्ने
एक पाखुरी हिम्मतको डाँडामा नै
लुङ्दर फर्फराउँछ प्रेम

कायरहरू खेल्न सक्तैनन् संवेदनाको यो सृष्टिखेल

जीवनका अटुट नयाँ नयाँ प्याटर्नहरू
संवेदनाको कलाइडस्कोपमा बाँचिरहन्छु

एक दिनभरिको यो
या ∆ ∆ ∆ त्रा
एम्बुश / एम्बुश / एम्बुश । ठाउँठाँवै !
तर बासी सुरक्षाको जूभित्र हाइ काढ्दै बसिरहनु
र खतराको बर्खे र्याफ्टिङ खेल्नुमा
कुन बढी जीवनमय हुन्छ, ऐले बुझ्दैछु

चुनौतीका चुचुराहरू साउती गर्छन्
आँटिला आँखाहरूलाई मात्र

रागिनी,
आज जोखिमकै छातीमा फुलिदिएको छ
हाम्रो संवेदनाको सेक्मुरी फूल !



सेक्मुरी : लिम्बु मुन्धुम अनुसार जीवनबोधी फूल।