ज्ञानको त्यो भोक / कुलमणि देवकोटा
ज्ञानको त्यो भोक,
यो जगत्मा,
यो हिमालको गुफामा
पेटको यो भोकभन्दा तुच्छ भो नाचीज ।
कस्तो हरे अफसोस!
पेटका यो भोक
सुबहमा औ शाममा उठ्छन्, यहाँ
बेरोकटोक !
एक छिनमै फेरि हट्छन्
जस्तो कि सागरका दुवै तीरमा उठेको छाल
वालुवा खाएर हट्छन् शान्त भै बेरोक !
पेटका यी भोक !
ज्ञानको त्यो भोक
दान ईश्वरले दिएको सर्वदा बेरोकटोक !
आत्माको यो छ आत्मा चैतन्यको यो चेत ।
ज्ञानको त्यो भोकमा आनन्दको बेरोकटोक !
न भोक ! न शोक !
क्या मजाको भोक !
ज्ञानको त्यो भोक !
पेटका यी भोकले आन्द्रा सुकाए ।
ज्ञानका ती भोकले के के खुलाए ?
कलेज, पुस्तक-घर फुलाए !
अनेकौं वेधशाला-घर फुलाए ।
केश ईश्वरका फुलाए !
भीष्मले परशुराम गुरुलाई हराए !
एकलव्यले ढुङ्गा थापी चकित गराए
ज्ञानका ती भोकले के के गराए
ज्ञानका ती भोकले के के गरे
अगम पर्वत उघारे
अनकण्टार जङ्गल चपाए,
शुष्क रेगिस्तानको संसारलाई निली
काश्मीर पारे
जार और कैशर मूला चपाएं,
कसैको जुँघा उखेले
साम्राज्यशाही दाउपेचलाई ढाल्न आँटे !
साँघुरा संकीर्ण छन्दोबन्ध खाए,
प्यासलाग्दा एटलाण्टिक सुकाए !
नुनिलो नपाई,
चम्किलो संसारको उत्तरतर्फको
सिंघेनूनको ढिको हिमालय
खूब चाटे
पीरो नपाई,
खोज्न खुर्सानीउपर आकाश धाए !
के के गरे ! के के गरे ?
ज्ञानका ती भोकले के के गरे ?
आज हामीलाई खै, ए ज्ञानको त्यो र
भोक लागेको ?
प्यास लागेको ?
तिमी एक टाइम यहाँ आउने गर
ज्ञानको त्यो भोक लाग्ला ।
शोक भाग्ला ।
('भारती', २००८ मार्ग)