भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ज्यापू / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छाती चिरीकन पृथिवीको दूध
चुस्छन् मानिस,
दुहुने मै हुँ ।
धूप झरीमा आत्मा परिशुद्ध
बर्ख यी तनी बीस
नहुँदो भौँ हुँ !

श्रृङ्गार हिलो, नङ्गा फिलो,
आँखा चमचम,
आदिम खनुवा,
शरीर शिला र कलेजा गिलो
चिथरा सिमसिम,
एकलो मनुवा ।

धान धापमा रीप छ टापू,
कुहिँदो छाना,
पत्थर सिरान,
तीन पुस्तातक बन्धक आफू
पितृ नाना,
बन्धक चिहान ।

सम्पत् पित्तलको यो थाली,
हाँडी काली,
गोल्फू, घैँटो,
धुजारु दौरा झिलमिल जाली,
चिथ्रे डाली,
गोबर गुँइठो

साथी भन्नु कानो कुक्कुर,
लुते घाँटी,
उपियाँदार ।
मालिक भन्दछ कुइँकुइँ थुरथुर,
भुक्तछ छ राति,
धन–रखबार ।

विवाह स्वपना सरि झैँ पर भो,
वायुको बीज,
टिप्ला काक,
पृथिवी फलाएँ, अरुको घर गो,
बलि हो एक चीज,
ईश्वर अवाक् !