ज्वालामुखीका शिखा / युद्धप्रसाद मिश्र
(मिर्मिरे दोस्रो झुल्को)
पाखा पर्वतका निवासीहरू छौ शृङ्गार नेपालका
सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका
आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने
हाम्रा हात र पाउ छन् धरतीका माटोविषे खेलने
कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले
मान्छे हौ पशुको छ जीवन दशा दर्वारका श्रापले
खानू पेटभरी भएर सपना हड्डी उठेका मुख
हर्दम् शोषकका दुराचरणले कुल्ची दिएको सुख
ऐलेका युग चेतना बीच बनी हाम्रो ठूलो दुर्गति
आफ्नो छैन कुरा शरीरतक यो मालिककै सम्पत्ति
ब्यूँझौँ बल्ल भयौँ सचेत क्षमता सङ्घर्षमा तत्पर
छौँ हामी अनगिन्ति पीडितहरू शत्रु छ मुठ्ठीभर
उम्री लोचन प्रष्ट निम्न जन छन् ब्यूँझिसकेका सब
टिक्ने साहस गर्न आउँदछ को हाम्रो अगाडि अब
उत्रेको व्यवहारमा पनि अब सिद्धान्त छेकिन्छ र ?
छैनौँ हामी दरिद्रका विजयको विश्वासदेखि पर
लाखौँ पीडित आर्तका हृदयको आक्रोश दन् दन् बली
जानछेन् अनि मात्र दुर्गति हुँदै सत्ता पुराना ढली
उठ्नु हामी गरीबले छ अहिले साहित्यको भै धनी
हामी शीघ्र जरा विपक्षीहरूको दिन्छौँ उखेली भनी
हाम्रा जन्मथला तथा झुपडीका मालिक हामी सब
हारेको भई लुटपाट सहँदै बस्थ्यौ र के पो अब ?
मार्नु र मर्नु सिवाय हृदयमा क्यै छैन हाम्रो अरू
ब्यँझेको युगले खेद्नु छ यहाँ सारा लुटेराहरू
हाम्रो खून छ देशको हृदयको घाउ दुखेको धुने
हाम्रो ध्येय तमाम पीडितहरू माथि समर्पण हुने
गर्छौँ शोषण मुक्तिको प्रण छिटै साकार हामी अब
फर्कन्नौँ नसकी उठाउन ढलेका देशका गौरव
हाम्रो त्याग विशुद्ध आत्म बल हुन् पीडितका सम्पत्ति
सक्ने छैन उछिन्न लोकप्रियता हाम्रो कसैले रति
हामी निश्चय मुक्ति प्राप्त गरने सङ्घर्षको भूमिका
हाम्रा प्रष्ट क्रियाकलापहरू छन् ज्वालामुखीका शिखा