भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झन्डालाई डिभी पर्यो भने के हुन्छ ? / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहाडलाई डिभी
पर्यो भने के हुन्छ ?


पुछारका टारी बोक्छ
सिरानका ढुङ्गे पाखा बोक्छ
बीचका नाङ्लेगरा बोक्छ
त्यतिले भारी नपुगेर
भौँतारिन्छ गाउँभरिका टारी, पाखा र गह्राहरूमा–
‘सयकडा पाँच दिन्छु,
लौन मलाई भारी पुर्याइदेऊ ।’

तराईलाई डिभी
पर्यो भने के हुन्छ ?

ऊ बगेर गइरहेको माटो सोरसार पार्छ
बाँधले डुबाएको खेतको फगटा गन्छ
दिनदहाडै लुटेर बाँकी रहेको गोठ सिनित्त पार्छ
बूढो बाउलाई भन्छ–
‘चिन्ता नगर बा ! मलाई पहिले उड्न त देऊ’
तर आफैँ चिन्तित रहन्छ ।

हिमाललाई डिभी
पर्यो भने के हुन्छ ?


एडमण्ड हिलारीले कुल्चेको शिर छाम्छ
तेन्जिङ नोर्गेले फ्यालेको नागरिकता छाम्छ
काँधमा चढेको कुहिरो अनुहारलाई घुक्र्याउँछ–
‘बुझिस्
मेरो छालामा तेरो देशको लेबल टाँसिने भो !’

झन्डालाई डिभी
पर्यो भने के हुन्छ ?

न उसको कुनै ढुङ्गेपाखो, टारीखेत अथवा नाङ्लेगरा हुन्छ
न उसको बग्दै गरेको माटो
बाँधले डुबेको खेत
अथवा
दिनदहाडै लुटिएको गोठ हुन्छ
न उससँग
कुनै विदेशीले कुल्चेको शिर हुन्छ
कुनै स्वदेशीले फ्यालेको नागरिकता हुन्छ
न काँधमा चढेको कुहिरो अनुहार नै हुन्छ ।

सिवाय अस्मिता
झन्डासँग केही हुँदैन
सिवाय अस्तित्व झन्डासँग केही हुँदैन
चन्द्रसूर्य खुइलिउन्जेल अनुहार काखी च्यापेर
अमेरिकन राजदूतावासको ढोकामा
पुच्छर हल्लाएर घन्टौँ कुर्दै
अस्मिता र अस्तित्व धरौटी राखेपछि
बल्ल उसलाई अमेरिका जाने भिसा मिल्छ ।

यो देशमा
हिमाललाई,
पहाडलाई,
तराईलाई होइन,
राष्ट्रिय झन्डालाई
डिभीको चिठ्ठा पर्ने खतरा छ ।

००
(भाउजूको डिभी चिठ्ठा क्यान्सिल भएपछि)