झरेको पातको सपना / गोपी सापकोटा
झरिसकेँ हाँगाबाट
पुगिसकेको छैन कहिँ कतै
यो एक क्षण
मेरो सम्पूर्ण जीवनका लागि
एकदमै महत्वपूर्ण / ऐतिहासिक छ
न म पहिले यसरी खसेको थिएँ
न म पछि नै यसरी कहिल्यै खस्ने नै छु
यतिखेर, मात्र यतिखेर
म खस्दैछु
थाहा छैन – कहाँ ?
यो एक अन्तरिम समय
जता पनि बग्न सक्छ
जता पनि बगाउन सक्छ-मलाई
म, एक झर्दै गरेको पात ।
झुण्डिरहेको बेला रूखको हाँगामा
मैले बुनेका सपनाहरू
एक एक गर्दै
मेरा प्रिय मित्र अन्य पातहरू झैं
फुत्त फुत्त खसे भुइँमा
उडायो कतिलाई हावाले हुँइक्याएर
बेपत्ता भए ती पात – सपनाहरू
मैले हावासँगै समय बगेको देखेँ
जसको अर्को एक बलियो झोक्काले
चोइटाइदियो म आफूलाई
म एक सपनाविहीन पात
हाँगाबाट चुँडिएर
मेरा हराएका सुन्दर सपनाहरू झैं
खस्दैछु यतिखेर विस्तारै
खस्दैछु…, खस्दैछु…. ।
यो सुक्ष्म क्षण
जे पनि हुन सक्छ –
म खस्न सक्छु म मुनिकै भुइँमा
म बतासिन सक्छु कुनै अन्कन्टार ठाउँमा
म पर्न सक्छु कुनै नदीमा
एउटा अनिश्चितताभित्रको निश्चिततासँगै
अर्को निश्चितताभित्रको अनिश्चिततासँगै
म एकाएक खस्दैछु- हाँगाबाट
थाहा छैन – कहाँ ?
मात्र पल पल खसिरहेछु
चोइटिएर बतासिएका आफ्ना सपनाहरूसँगै
म, एक झर्दै गरेको पात ।
०००