भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झ्याल, बगर र कथाहरु / सुवास खनाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जबजब झ्यालमा पर्दाहरू हट्छ
न्तब त देखिन्छ
डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको
मासुका टुक्राहरूजस्तो
एकटुक्रा आकाश
एकटुक्रा जमिन
एकटुक्रा सडक
एकटुक्रा बगर

सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

यो आकाश कहाँसम्म फैलिँदै गएको छ ?
यो धरतीको किनारा कहाँ छ ?
यो सडक आकाशतिर उक्लिन्छ कि उक्लिँदैन ?
र बगरका ढुङ्गाहरूमा फूल उम्रिन्छ कि उम्रिँदैन ?
सपनाजस्तो थुप्रै रहस्यहरू
म खोतल्न सक्दिन

म मान्छे मन नपराउने मान्छेहरूले पढिरहेको कथा
चुपचाप सुनिरहेछु

कुनैदिन मेरो पालो आयो भने
म पागलजस्तै बर्बराइरहेको हुन सक्नेछु
मान्छेकै पक्षमा लेखिएका
मेरा सयौँ कथाहरू पढ्दै

‘ म मान्छे चाहन्न ’
उफ् को कराइरहेछ अँध्यारोमा ?
म भने मान्छेकै प्रेमले
बाँचिरहेछु प्रत्येक क्षण

सपनाहरू बेफिक्री चपाउन सक्दारहेछन्
भगवानहरूले
मन्दिरमै बसेर
तर कोही गाइरहेछ
कतै टाढा
सायद् मान्छेकै आवाज हुनुपर्छ
यो कति मीठो र सुमधुर छ

तिमीले मान्छेलाई सपनाहरू पढाएनौ

मान्छेहरू भट्टीमा बसेर पिइरहेछ
न्शराबजस्तो जिन्दगी
तिमीले सिकाएनौ मान्छेलाई
बहिरहेको हावालाई समातेर राख्न अञ्जुलीभरि
र मान्छे बगरहरूमा डुलिरहेछ आफ्नै जिन्दगीको
र त्यतैबाट बगाएर फर्किँदैछ
स्वत्व
साँच्चै सिकाउँदै सिकाएनौ मान्छेहरूलाई
झ्यालका खापाहरूमा
घामको आभाले लेखेर गएको प्रेमपत्र पढ्न
र हेर
मान्छेले सुन्न छोडिसक्यो संवेदनाका कथाहरू

ए ! सुन त अलि परका मान्छेहरू
उनिउँ फुल्छन् कि फुल्दैनन्
तिम्रो बस्तीमा
तर उनिउँ फुलेर हैरान छौँ
हामी हाम्रोतिर ।