भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

टियर ग्यास / विमल निभा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हाम्रा आँखाबाट आँसु
समाप्त भइसकेको छैन
सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु
हाम्रा आँखाहरुमा
बाँकी छ अहिले पनि
अलिकति नुन
अलिकति पानी
हेर, गिलो छ
नारायणगढ, पोखरा, जनकपुर
काठमाडौं, भक्तपुर, पाटन
र कीर्तिपुरको माटो
आँसुले भिजेको भूमि हो यो
आँसु रक्त
र रक्त आँसुमा परिणत भएको छ
अब कुनै अन्तर छैन
रक्त र आँसुमा
आँसु र रक्तमा
लाखौंलाख आँखाबाट
बगिरहेछ रक्त
र रातो छ यो धरती
रक्तरञ्जित छ नेपाल
आँसुको व्यापार गर्नेहरु हो !
बलात् हाम्रा आँखा बगाउनेहरु हो !
आँसुको सम्बोधन हो यो
संकल्प हो रक्तको
यही समय हो यो
हो, यो यही समय हो
जब रक्तले तिमीहरुसँग
आँसुको हिसाब खोज्छ