ट्रयांकुलाइजरको समाधिबाट १/ सन्तोष थेबे
समय घडीको सियो भएर दुखिरहेछ
मौनता बाँचेका अँध्यारा पहाडहरुबाट
पहिराका आला छातीहरु
उतिसघारीका पातहरुमा
जूनका पन्याला रङहरु अँध्यारोमा पोखिएका छन्
सपनाका धमिला रङहरु आकाशमा पोतिएका छन्
यो मौन पहाड
जहाँ बाटा बिराएकाहरु
परपीडक, आत्मपीडकहरु
जीवन दुःखै दुःखको महासागर भन्नेहरु
आफ्नो चित्त साहै्र दुःखेको बेला
टाउको समाएर चिच्याउने गर्छन्
र आफ्नो असफलताको ढुंगो गाड्छन्
रातको तेस्रो प्रहर
समय जूनसँगै घिस्रिरहेछ
मन जूनसँगै पग्लिरहेछ
झ्याप्प बत्ती निभ्छ
नजीकैको नितम्ब र स्तनमा हात
कामदेव गहिरो निंद्रामा छ
सिरानीमुनी खस्याक खुसुक
एक टुक्रा अँध्यारोमा चेत उडाएर सबै–सबै
एक झमक निंद्रामा आँखा बन्द गरेर सबै–सबै
अतितका धमिला घाटहरुमा विश्राम दिन
वास्तवमा असमर्थ छ यो ट्रयांकुलाइजर
वास्तवमा अनर्थ छ यो डक्टरको हस्ताक्षर !
पहाडमाथि कतै चीसा बरफहरुमा
गुराँसका राता गाढा रङहरुमा
सम्झनाहरु खोपिएका कहालिँदै आँधीबेहरीमा
बिराना पातपतिङ्गरमाथि
एक हुल अर्धनग्न विराना आइमाईहरु
शीरमा बुकी पूmल सिउरिएर दौडिरहेछन्
छचल्की रहेछन् वैँसका उच्छवासहरु
पच्छ्यौरीको लजालु रेशमी बुट्टाहरु
आह ! चुम्न नपाउँदै परेलीमा ब्युँझेछ
आह ! थाम्न नपाउँदै आँचलमा अल्झेछ
कालो पहाडको छातीमा पहिरो गएछ
स्खलित सपनाहरु उतीसघारीमा बग्न नपाउँदै जमीनमा तप्केछन्
एक झमक निंद्रामा चेत उडाएर सबै सबै
अतितका धमिला घाटहरुमा विश्राम दिन
वास्तवमा असमर्थ छ यो ट्र्यांकुलाइजर !
वास्तवमा अनर्थ छ यो डाक्टरको हस्ताक्षर !
विपनाको संसार बिझाउँछ त्यसैपनि
अब बेहोसीको संसार त प्रिय लाग्छ नै
हरेक रात कुनै निशाचरले पहरा दिएको कालो पहाड
चाहे गोधुली होस् या कुनै आश लाग्दो बिहानी
एकजोडी सुख्खा आँखामा
एक थोपो निंद्रा तप्केन छ
एक त्यान्द्रो जून खसेन छ
सपनाका श्रृंखलाहरु सायद यतैकतै टुटे होलान्
साहसका पहाडहरु सायद यतैकतै भत्के होलान्
एउटा निस्सार जून सधै जस्तै आजपनि उहि गतिमा घिस्रिरहेछ
एउटा कालो बादल सधैजस्तै आजपनि उहि गतिमा मडारिरहेछ
पहाडमा गाडिएका ढुंगाहरु साक्षी छन्
सियोले घोच्ने समय साक्षी छ
एक टुक्रा अँध्यारोमा चेत उडाएर सबै सबै
अतितका धमिला घाटहरुमा विश्राम दिन
वास्तवमा यो ट्रयांकुलाइजर असमर्थ छ
वास्तवमा यो डाक्टरको हस्ताक्षर अनर्थ छ ।
जीवनको सार खोज्ने चेतना मलाई
नितान्त तर दुःख बोक्न गाह्रो भएछ प्रभू
नितान्त तर निस्सार खोज्न साह्रो भएछ प्रभू
दुख्छ मलाई हावाको सानो झोँकाले पनि
घोच्छ मलाई जूनको सानो उज्यालोले पनि
थाहा छैन किन यो क्लिष्टता रोज्दैछु
थाहा छैन किन यो असमर्थता हिँड्दैछु
आँखा छलेर किन यो बेहोशी पिउँदैछु
केही त बोल,
कम से कम शंका त गर
रातको अँध्यारो दहबाट
हरेक रात
अँध्यारो पहाडतिर फर्किएर
ट्रयांकुलाइजरको समाधिबाट चिच्याइरहेछ
मैले उचालेका बेइमानी र पाखण्डलाई कुल्चेर
मैले अनाहकमा पोतेका क्यान्भासका रङ्हरु घोप्ट्याएर
अँध्यारोमा राँको बालेर आऊ
यहाँ छु म
वास्तवमा यो ट्रयांकुलाइजर असमर्थ छ
वास्तवमा यो डाक्टरको हस्ताक्षर अनर्थ छ
मलाई गिरफ्तार गर ।