ठिठाले गुप्ती पियारीलाइ लेखेको / देवीदत्त शर्मा पराजुली
ठिठाले गुप्ती पियारीलाइ लेखेको
प्यारी ! झल्झलि तिम्रा संझन्छु विलास ऊ अनेक् तरका ।
काटिनजान्छ कलेजा चल्दा ताना असह्यमन्भरका ।।१।।
क्षणभर् दिल् वहलाउन सादृश्य पनी नपाउँदा प्यारी ।
एडि जाउँ कि बुडि जाऊँ विषका प्याला उडाउँ की भारी ? ।।२।।
प्यारी १ झलक झल्का चन्द्र वदन्को दिई अली केही ।
विरहज्वाला(तापित क्षणभर शीतल गराउ यो देही ।।३।।
जवाफ लेखेको
प्यारे ! हजुर जसोरी तड्पीवक्सिन्छ हरवखत त्यहाँ ।
एसरी हजुरकि दासी राईरहन्छु अभागिनी याहाँ ।।१।।
प्यारे ! चन्द्र-वदन्को अलि अलि झल्का लिऊँ भनी गुन्छु
सो मन पापि उडीगै खाली अड्पी अभागिनी रुन्छू ।।२।।
लेखी विन्ति चढाई मनका सब दुःख भन्दछू नाशूँ ।
हतभाग्य अभागिनीले सो पनि पाउन्न झर्दिंदा आँसू ।।३।।
झल्का लिन भनि मुखको म जान्छु माथी अटालिमा राती ।
उस्तो शीतल सोही चन्द्र पनी पोल्छ अग्निको भाँती ।।४।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)