भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

डम्मीहरू / सुवास खनाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कुनै म्याराथुन धावकजस्तो
मानव अस्तित्वको पछिपछि
हो उसैलाई भेट्टाउन
शायद् म दगुर्दै थिएँ
को थियो ऊ ?
थाहा भएन

इतिहासका पानाहरूमा
प्रशस्त बर्जित ऊ
कुनै अराजक समय लखेट्दै आइपुग्नेछ
एक दिन तिम्रो छेऊ

आकासमा कोरेको
कुनै अनाम भुगोलको अनन्त नक्सा
हो ,उसले देखाउनेछ

तिमीले सक्छौ भने स्वीकार गर्नू
ऊ तिम्रै नामहरूको
सजीव सपना हो

दिगमिग लागेर
डम्मी मान्छेहरूसँगको
कृतिम सम्बन्ध
हो, ऊ
आवाजहरूको कुनै देश पुग्यो शायद्

लेख्दै होला
स्वतन्त्रताका झन्डाहरूमा
आफ्नै पसिनाको साहसी गान

डम्मीहरू
मान्छेजस्तै,
तर मान्छेहरू होइन रहेछन्
डम्मीहरू
मुक् हुँदारहेछन्
खतराहरू वा बेखतराहरू सबैसँग
डम्मीहरू
चुपचाप चुपचाप
उभिँदारहेछन्
खुसीहरूमा वा बेखुसीहरूमा

यो
बर्सिरहेको
विरही झरी

आँखाहरूमा मूल फुटेको ओस
यो
हूरीले उडाउँदै ल्याएको समय

ढल्दै गरेको आशाहरूको कुन्यूँ
— ऊ नआइपुग्नुका परिणतिहरू हुन्

जीवन
बिस्कुनहरूमा फिँजाएर
पारिलो घाममा निर्धक्क सुतेको
कुनै रक्सीले मातेको
मान्छेजस्तो देशमा
तिमीले
कुन कोमल सपनाको कुरा ग¥यौ ?
तिमीले आमाको
कुन फाटेको चोलीको कुरा निकाल्यौ ?
कुन अयोग्य घोषित
रहर र आशाहरू सम्झियौ ?
यहाँ
यी सबैसबै वर्जित छन्

कुनै एउटा सस्तो कथाको
फिल्मजस्तो अखबार पढेर
रातभर बेचैन रहने
नियमितताहरू
चोकचोकमा बिक्री भइरहेछ

दिनभर सुतेर फेरि
सुत्नै एकछिन जागा भएको
असली कुम्भकर्णजस्तो
वर्तमान
बजाइरहेछ आफ्नै डम्फू

मन्दिरहरूमा बजिरहेछ
एकोहोरो शङ्ख

यसक्षण,
कसरी म निदाउन सक्छु निर्धक्क ?

तर हेर
डम्मीहरू निदाइरहेछन्
बेपर्वाह !
निर्धक्क !