भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डेलमिरा अगस्तिनी / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डेलमिरा अगस्तिनी - परिचय

नेपालीमा


डेलमिरा अगस्तिनीको जन्म २४ अक्टोबर सन्‌ १८८६ मा उरुग्वेको मोन्टेभिडियोमा भएको थियो।सानै उमेरदेखिनै उनले कविता लेख्न थालिन् र 'ला अल्बोरादा' जस्ता सहित्यिक पत्रिकाहरूमा प्रकाशित गराउन थालिन्‌।साथसाथै उनले 'जोजो' छद्मनामले पत्रिकाहरूमा नियमित स्तम्भहरू पनि लेख्न थालिन्‌।

डेलमिरा अगस्तिनीले छोटो अवधी मै ल्याटिन अमेरिकी प्राज्ञिकवर्गबीच चर्चा पाउन थालिन्‌।उनका कविताका चर्चा गर्ने समलोचकहरूले उनको सौन्दर्य तथा यौवनको चर्चा नगरी कहिल्यै आफ्नो लेखन टुङ्ग्याउन सकेनन्‌।उक्त टेक्स्चुवलाइजेसन अर्थात्‌ महिला लेखकलाई साहित्यिक वस्तु बनाउने प्रवृत्तिहरूले अगस्तिनीलाई आजीवन पछ्याइरहे।

डेलमिरा अगस्तिनी सोर्‍ह वर्षकी हुँदा मोन्टेभिडियोको सबैभन्दा प्रतिष्ठित सम्पादकका कार्यालयमा गइन्‌, उनको पहिलो पुस्तकको पाण्डुलिपी टेबुलमा राखिन् र त्यो प्रकाशित भएपछि जानकारी गराउन आग्रह गरिन्‌।उनको कुरो सुनेर सम्पादक हाँसे र उनलाई त्यहाँबाट बिदा गरे।त्यसको केहीपछि उक्त पुस्तक प्रकाशनका लागि स्वीकृत भयो।त्यसबेलादेखि मृत्युपर्यन्त तीनवटा कवितासङ्ग्रह तथा अनेकन पत्रिकाहरूमा कविता प्रकाशित गराएर उनी स्थानीय तथा राष्ट्रियस्तरमा चर्चाको शिखरमा रहिन्‌।अगस्तिनीले सन्‌ १९०७ मा 'एल लिब्डो ब्लाङ्को' (खाली पन्ना) र १९१० मा 'क्यान्तोस दे ला माङ्याना' (उषागान) शीर्षकका दुई कवितासङ्ग्रहहरू प्रकाशित गराइन्‌।उनको मृत्यु पश्चात्‌ सन्‌ १९२४ मा उनका सबै रचनाहरू दुई भाग गरेर प्रकाशित भए।

अगस्तिनीले आफ्ना कवितामा नारीको कामुकता तथा प्रेम र कलाप्रतिको सोच र ग्रहणशीलतालाई नारीका दृष्टिकोणबाट खुलस्तरूपमा व्यक्त गरेकी छन्‌।

सन्‌ १९१३ को अगस्टमा उनले एनरिक जब रेयससँग विवाह गरिन्‌।उनीहरूको वैवाहिक सम्बन्ध एक वर्ष नपुगी टुङ्गियो।सम्बन्धविच्छेद भइसकेपछि ६ जुलाई सन्‌ १९१४ मा रेयसले गोली हानेर अगस्तिनीको हत्या गरे र सो बन्दुक आफैँतिर फर्काएर गोली चलाए।