भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ढुङ्गाको बोली / मञ्जु काँचुली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब मनले त्याग्छ जीवन र वस्तुको आकर्षण
तिमी मेरो वा म तिम्रो हुन्नँ

भावनाको बन्धन, वासना र ध्येय हुन्न
समतामयी बुद्धिले पीपलका हाँगा–हाँगामा
भर्याङ चढ्दै बढ्छ

सरल पाइलाले जब माटो र बाटोहरू
छोड्दै–छोड्दै अघि बढ्छ
जीवनमुक्तिको पदचिह्रनबाहेक
माटोमा अर्को चिह्रन हुन्न

सङ्कल्पहरू, साना–साना भुइँचालोर पानीका लहरहरू
मेटिन्छन्; सतह स्थिर देखिइन्छ
हावा शान्त हुन्छ, बादल देखिइन्न कतै
इच्छा–अनिच्छारहित
दुःख–सुख चिन्तनरहित
सुषुप्त आचरण भरिइन्छ

मान्दिनँ सुख–दुःखलाई
जब विषयले उत्पन्न अतितृष्णाको बन्धनले घेरिइन्नँ
म तिम्रो वशमा पनि हुन्नँ

मुक्त भएको मनको सुगन्धले
सजिएको छ बगैँचा
वस्तुप्राप्तिका इच्छाहरू
दुःखका खातहरू, भयका शृङ्खलाहरू
 सत्–असत्त्यागेर परमपदमा टेकेको छ
शान्त सागर निश्चल छ सदा
माटोमा मन्द सुगन्ध छ

म एक सूक्ष्म आकार, सर्वरूप, गुदी
विषादमुक्त विस्तृतता
सर्वस्व स्वरूप; अलग्ग अस्तित्व

प्रकृति, माया, ब्रह्रम वा
विज्ञान, सत्य, नित्य वा अरू केही मलाई किन सोध्छौ ?
व्यर्थ किन कुनै कामना गर्छौ ?
यो सबै सांसारिक प्रपञ्च मलाई थाहासम्म हुन्न

थोरै सहजीवीहरूको अलिकति मन बुझेर
तिनको अभिमत बोलेको छु, दुःखी छैन

आन्तरिक दृष्टि छ,
अणु–परमाणुभित्र गति जारी छ
बाह्रय जगत् हेरेको छु
प्रपञ्चरहित अवस्थामा
बाहिरी रूपले तिम्रो आचरण पनि बेहोरेको छु

आकुलता र कलङ्करहित आकाशजस्तै
निर्मल मनले स्वच्छन्द विचरण गर्छु
कावा खाँदै
शरद्कालीन तलाउको तिम्रो रागमय पानीको सँघारलाई
हेरेको छु, टाढैबाट

आफ्नै मनका पहेँला पानाहरूलाई त्यसमा
देखेको छु
यो आकाश र यो आनन्द
निर्मल मुक्ति
संवेदनमुक्ति । टाढैबाट

निर्विकल्प पदमा स्थित
पत्थरसमान, चेष्टारहित
सङ्कल्प–शान्त परास्वरूप, एक ढिक्का मुटु

तिम्रो शरद्कालीन तलाउको नजिकै
रागमय पानीदेखि अलि पर
आफ्नै किनारको
आफ्नै विचारको
एक मुठी माटोमा टेकेर
मुक्तिका शब्दहरू बोलेको छु
साना–साना गिट्टीहरूको आवाजले

कतै प्रहार पर्यो होला
यस ढुङ्गाको (बोलीको) त्यस पानीमा
मलाई थाहासम्म हुन्न ।