ढुङ्गाहुन पाए / देवान किराती
यदि यो बेला
म ढुङ्गा भएको भए....... !
हिँड्दा–हिँड्दै अडिएर टक्क
बोल्दाबोल्दै रोकिएर ठक्क
म ढुङ्गा भएको भए
मान्छेहरू कति पुज्थे होलान् मलाई
ढोँगीहरू कति ढोग्थे होलान् मलाई ।
मैले बोलेका मान्छेका कविताहरू
देववाणी बन्थे होला
मैले गाएका अल्लारे गीतहरू
आदिवाणी हुन्थे होला
र बन्थे हुँला म
एक सुन्दर देवता– अद्भुत !
जहाँजहाँ टेकेको थिएँ मैले
त्यहाँत्यहाँ मूर्खहरूको लाम लाग्थ्यो होला
जहाँजहाँ पुगेको थिएँ म
त्यहाँत्यहाँ पापीहरूको धाम हुन्थ्यो होला
घण्टौँ–घण्टा लगाएर
ढोँगीहरू÷भोगीहरू
रोगीहरू÷जोगीहरू
सन्काहाहरू÷मूर्खहरू
मेरो प्रवचन–स्तुतिभजन गाउँथे होला
र मेरो आमाको आशीर्वादहरू
मूलमन्त्र बनाउँथे होला मेरै
र भन्थे होला यो युगको देवता– महान् !
जहाँजहाँ बसेको थिएँ म
त्यहाँत्यहाँ हुन्थ्यो होला
कसैका मन्दिर
कसैका मस्जिद
कसैका चर्च
कसैका गुम्बा
आ–आफ्नो अहम्को अखाडा
आ–आफ्नै फन्टुस नाम
र त्यै नामको आराधना गरिन्थ्यो त्यहाँ
त्यै ढुङ्गाको गुणगान गाइन्थ्यो त्यहाँ
ंंंंंंंंंंंंंंंंंंं............भनिन्थ्यो मलाई
परामात्मा नायक तिमी अपरम्पार !
हिँड्दा–हिँड्दै अडिएर टक्क
बोल्दा–बोल्दै रोकिएर ठक्क
यदि यो बेला
म ढुङ्गा भएको भए........ !