Last modified on 2 सितम्बर 2020, at 09:59

ढुङ्गे समयका खुड्किलाहरू / रञ्जना मिश्र / सुमन पोखरेल

तिम्रो अनुपस्थितिको एक छेउ समातेर
त्यस ढुङ्गे समयका कयौँ खुड्किला ओर्लने गर्छु
जसको पर्तिरपटी
समयबाट टुक्रिएर झरेको
एउटा क्षण अहिले पनि कामिरहन्छ
एउटा मौन उपस्थिति छ त्यहाँ
जहाँ पुल थियो हामीबीच बग्दै गरेका शब्दहरूको
अझै पनि जस्ताको तस्तै बिसाइरहेको
पर समुद्रमा कतै लङ्गर लगाएर बसिरहेको
कुनै निर्जन जहाजजस्तै ।

साँच्चै भन्नु हो भने,
तिम्रो अनुपस्थितिको लामो आवतजावतमा
मौनलाई बढी साकार भेट्टाएकी छु मैले
र यही मौनमा साकार हुने गर्छौ
तिमी पनि ।

सुन, अचेल मेरो प्रतीक्षा पाकेर थकित हुँदैन
मात्र रङ्ग फेरिरहन्छ
वसन्तको चम्किलो रङ्ग
पातमा खसेर बगेजसरी,
केवल यस्तो सोचेर-
के थाह, कतै तिमी आएर
यी हत्केलामा
हाम्रो मिलन हुने
मिति लेखेर जाने पो हौ कि ।