तयार छु मर्न एक पटक / लखी पाण्डे / सुमन पोखरेल
त्यसपछि
तिम्रा ओठको छायाचित्र र तिनको स्वच्छताको पल्लोपटी
शान्त हुँदै गएको जूनलाई प्रत्यक्ष देखेँ मैले ।
दुई ओठबीचको अनुभूतिले मौन रहेरै सहस्र कुरा भन्यो
र रातको स्थिरताका बीचबाट
मैले नमन गरेँ पशुपतिनाथलाई ।
कुनै समयको कुनै अर्को मध्यरात
म यसै क्षणका लागि मर्न तयार छु
र यसै क्षणलाई बोकेर बाँचिरहन सक्नेछु... कालान्तरसम्म ।
कसैका लागि यो खेल हुन सक्ला
कसैका लागि मुटु निचोरिने अनुभव !
देवत्व, शान्ति, शान्तचित्तता... सुखद् पीडा !
म यसै क्षणका लागि मर्न तयार छु
र यसै क्षणलाई बोकेर बाँचिरहन सक्नेछु... कालान्तरसम्म
विस्मृतिमा विस्तारित यो क्षण
मेरो मानसमा सँधै बाँचिरहने छ
त्यसैले
यस क्षणको कुनै अन्त्य छैन !
जान्दिनँ म, कसरी विस्तार गर्नुपर्ने हो त्यसलाई
जो अब विलिन भइसकेको छ!
म अधुरोलाई नै सम्पूर्ण अनुभव गरिरहेकी छु !
थप मोहको चाहना छैन मलाई !
चाहन्छु, म यस क्षणसँग सधैँ टाँसिइरहूँ
र ऊ
जता जानु छ गइरहोस् ।
..............................................
(मूल अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)