भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ताजमहल र मेरो प्रेम / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।
 
फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।
 
उभिएर आज
यो ताजमहल अगाडि;
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू

आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु।
यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैँलाई ?
भ्रमित छु
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।
 
शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।
 
कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।