भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तानाशाह कविता र विवश म / महेश मास्के

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बस्तीका झुपडी, पाल र पर्खालहरू
दुर्गन्ध, हिलो, उडुस र उपियाँका जमघटहरू
हतकडी, जेल-नेल र चित्कारका आवाजहरू
सिमेन्टको पाइपमा कुँजिएका मान्छेका आभासहरू
मेशिनको गडगडाहट र फेक्ट्रीका स्वरहरू
पसिना र मेहनतका जोरहरूबाट
चिसो गोलबाट निस्कने धूवा झै
जब कविता
मेरो आँखालाई छेड्दै मानसभित्र पुग्छ
म रन्थनिन्छु, छट्‌पटिन्छु

र भएभरको शक्ति लगाएर
मुक्त हुन खोज्छु त्यसको पञ्जाबाट
तर कविता अठचाइ नै रहन्छ मेरा मष्तिष्कका तन्तुहरू
र यिनीहरूलाई अधिकारमा लिइसकेपछि
बलाउंछ मेरा हातहरूलाई
यसरी विजेता कविता
बोलिन्छ मेरा डायरीका पानाहरूमा
मलाई धराशायी गरेर !

मेरा विद्वान साथीहरूले मेरा कविताहरू देखेर
मलाई "हिपोफाइट" भनिदिन्छन्
मेरो रहन-सहन र स्तर
मेरो सोचाइसंग मिल्दैन अरे
मैले मन पराउन थालेको आदर्श
मेरो यथार्थसंग मिल्दैन अरे
र यस्तै यस्तै धेरै मभित्र स्थित विरोधाभासहरू
उनीहरूले म तिर औल्याइदिन्छन्

…बियरका बोतलहरूभित्र कुनै ठगिएको मजदूरको पसिना बसाउँदा
नांगो यौवनको पसल थापेकी तरूनीहरू पछाडि
पिताले दिन नसकेको जिनको मिडी, सिफनको सारी या
पेटभरी खानाको विवशता रसाउँदा…

ब्यूटी कन्टेस्ट र विक्नी सुन्दरीहरूबीच
टिनका गह्रौँ पाताहरू बोकेर उकालो लाग्दै गरेका
एक हातले छोरा अर्को हातले हसियाँ च्यापेर
दाउरा घाँस गर्न जान आटेका जेठी कान्छीहरू झुल्कदा,

…मेरो बेमौसम झस्काइ
मेरा सुसंस्कृत साथीहरूको
आनन्दतिरेक मनस्थितिमा खलल पुऱ्याउँदो हो
तर कसरी सम्झाउ म
विवश म पनि छु
"पजेस्ड" मान्छे झें

गल्ती मेरो सिर्फ यति हो
मैले वास्तविकता बुझ्ने प्रयत्न गरे
र त्यहीं प्रयासमा
मेरो दिमागभित्र अवस्थित
कल्पनाको महल र किल्लाहरू ध्वस्त भएछन्
र कठोर यथार्थले त्यसमा कब्जा जमाएछन्

गल्लि मेरो सिर्फ यति हो
मडको कुनै एउटा कुनामा
जीवनको स्पन्दनले अझै हार मानेको रहेनछ
र समय समयमा त्यो धनको प्रहारमा बदलिदो रहेछ

त्यसैले मेरा बुद्धिमान साथीहरू
कृपया दुःखित नहुनु होला
यो त शुरुवात मात्रै हो
बाटो लामो र कठीन छ
यो त हिड्ने अठोट मात्रै हो
रक्सी र सुन्दरीहरूसंगको सहवासको स्वतन्त्रता ?
बधाई छ तपाईहरूलाई नै
यो त निर्मम व्यवहारको तानाशाही
झलक मात्रै हो !

०००

३-५-२०३८ / दरभंगा
प्रकाशित "स्पन्दन" अंक ३