तिमीनै हौ जसले मलाइ प्रेमी बनायौ / सविता गौतम दाहाल
दर्दको महासागरमा भरपर्दो डूंगा तिमी
धमिला पैनी माथिकी सधै कलवट तिमी
वितृष्णाका नदी तार्ने पूल तिमी
तिमीनै हौ जसले मलाई
समस्या समाधान शुत्र ओढाएर
सफलताको न्यानो दिलायौ ।
घृणाले लिपिएका आँगनहरुमा
प्रेमस्वस्तिक सजाउने तिमी
घोचपेचका त्रिशूल सहन सक्ने
बुद्धको कथावाचक तिमी
दुश्मनहरुलाई पनि साइनाले
सम्मान दिन सिकायौ ।
आफना अपमानहरु सहजै
मनमस्तिष्कबाट मेटाएर
वाल मनोविज्ञान सन्दर्भ वुझ्ने विदूषी
आज सही चिन्छु सबलाइ
तिम्रो शिक्षादीक्षाको जग यति दरो छ
ढल्दैनन क्षमाले पोतिएका आस्था पर्खालहरु
तिमीनै हौ जसले टेरेसा जन्मायौ ।
आगोहरु माझ सधै पानी हन सिकायौ
चिसामनहरुमा न्यानो दिन अह्रायौ
तिमीनै हौ जसले मलाई प्रेमी बनायौ ।
संसारभर शब्दशास्त्र सकेसम्म नियाले
ज्ञानी र सन्तका साथ पनि अंगाले
सर्वत्र तिम्रै दर्शनको मूल अर्थ
“बैगुनीलाइ गुनले मार्नु“ बुझेर आए
तिमीनै हौ जसले मलाई दार्शनिक बनायौ ।
आज जीवनका सारा चाहनाभन्दा तीब्र
एउटै चाहना
कुदिरहेछ
दौडिरहेछ
मैदानहरुमा
शहरहरुमा
मनमन्दीरहरुमा
र खोजिरहेछ
तिम्रै आर्शिवादको छत्रछाया
तिमी जस्तै स्वार्थरहित माया
खोजिरहेछ मभित्रको मान्छे
तिमी जस्तै आमाहरु
केवल,
तिमी जस्तै आमाहरु ।