भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई भेटेको मधुर क्षण / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आफ्नै असमर्थताको तगारोमा छेकिएर
म तिमीसम्म कहिल्यै पुग्न सकिनँ ।

जहिले पनि म एकलै-एक्लै बसेको हुन्छु
टाढा-टाढासम्म आँखा फिँजाएर
एउटा आकृति भास्सिदैँ आउँछ मेरो मानसभरि
जो फूलभन्दा धेरै बास्ना-बास्ना हुन्छ
स्पर्शको बोधभन्दा कोमलताको आभास मात्र हुन्छ
मुस्कानै-मुस्कान हुन्छ - रङ्गै-रङ्ग मात्र हुन्छ,
(व्यथा पनि होलान् त्यहाँ र आँसु पनि होला !
तर जो मबाट अप्रतीत रहे तिनको कुरा म कसरी भनूँ?)

र मलाई लाग्छ त्यो आकृति तिम्रै हो
जसले मलाई पछ्याइरहन्छ -पछ्याइरहन्छ
नछोइन् सङ्गीतको मीठो धुन जस्तै
एउटा अनुभूति - एउटा मधुर क्षण
बाँधी राखूँ जस्तो !
बाँधी राखूँ जस्तो !!