तिमीले मलाई बिर्सियौ भने / पाब्लो नेरूदा / सुमन पोखरेल
मैले
मेरा झ्यालको बाटो हुँदै
मन्द गतिमा हिँडेको शिशिरको चम्किलो जून हेर्दा,
आगाछेउको
धड्कनविहीन खरानी
अथवा
चाउरिएको दाउराको शरीर छुँदा
ती सबैले मलाई तिमीसम्म पुर्याउँछन्,
मानौँ
अस्तित्वमा रहेका जुनसुकै चिज
सुगन्ध, प्रकाश वा जेसुकै
मलाई खियाएर तिम्रा भावनासम्म पुर्याउनका लागि
पर्खेर बसिरहेका नाऊ हुन्।
र अब, यदि
तिमी मलाई माया गर्न बिस्तारै छोड्छ्यौ भने
म पनि बिस्तारै तिमीलाई माया गर्न छाड्नेछु।
तिमीले मलाई बिर्सियौ भने
मेरो आशा नगर्नू,
मैले तिमीलाई उहिल्यै बिर्सिसकेको हुनेछु।
यदि तिमी यसलाई
मेरो जीवनको बाटो हुँदै दौडिएको बहुलठ्ठीपन ठान्छ्यौ
र
मलाई मेरो हृदयको जरा भएकै किनारमा छोड्ने ठान्छ्यौ भने
सम्झिराख
त्यस दिन, ठीक त्यही बेला
म मेरा पाखुरालाई सार्नेछु
र मेरा जरा अर्को उपयुक्त माटोको खोजीमा लाग्नेछन्।
तर यदि
हरेक दिन
हरेक पल
तिमी आफूलाई कठोर मीठाससहित
मेरो गन्तव्य ठान्छ्यौ भने,
हरेक दिन
मेरो खोजीमा एउटा गुलाफ तिम्रा ओठसम्म उक्लिन्छ भने
ए मेरी प्रिया, ए मेरी प्यारी
मेरो सम्पूर्ण प्रेम उसै गरी दोहोरिनेछ।
मभित्र केही निभेको हुने छैन, केही विस्मृत भएको हुने छैन
मेरो प्रेम तिमीभित्रै बाँच्नेछ, मेरी प्रिया!
र तिमी बाचुन्जेल
मलाई नछोडिकन बाँचिरहनेछ तिम्रा पाखुरामा।