भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आउँदैछौ भन्ने सुनेर / विश्वविमोहन श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी आउँदैछौ भन्ने सुनेर
हामी हर्षले उकँदै
माथि मचानमा उक्लिएर
पर- पर- त्यो वाँसको झ्याङभन्दा
पनि पर
दोबाटो, चोरबाटो र चौबाटोभन्दा
पनि अझै पर
पर देखिने डाँडामा टोलाएर
हेरिरह्यौं, हेरिरह्यौं
बाटोभरि आँखा ओछयाएर
तिमी आउँदैछौ भन्ने सुनेर
हामी हर्षले उफ्रदै
माथि मचानमा उक्लिएर
हेरिरह्यौं, हेरिरह्यौं
बाटोभरि आँखा ओछयाएर

त्यस दिन हामी
आधा रातसम्म पनि
तिमीलाई पर्खिएर
अगेनाको वरिपरि
बूढी बज्यैको कथा चाटेर
अलिकति पनि अल्छी नमानी
बसिरह्यौं, बसिरह्यौं
'गुलबकावली' को खोजमा भौतारिएको
राजकुमारको कोतूहलमा मन्दा
तिम्रो प्रतीक्षामा
समयलाई एकाग्र तुल्याएर
घरी-घरी आँखा उठाएर
ढोका निहाल्दै / हामी
बसिरह्यौं, बासिरह्यौं
तिम्रो प्रतीक्षामा हृदयलाई ओछयाएर ।

तिमी गाउँ, गल्ली र बस्ती हुँदै
आउँदैछौ भन्ने सुनेर
तिमी मान्छेको मन/मन र मस्तिष्क
पखाल्दै आउँदैछौ भन्ने सुनेर
तिमी एउटा नयाँ विश्वास र
एउटा नयाँ ज्योति लिएर
आउँदैछौ भन्ने सुनेर
हर्षले गद्गद हुँदै हामी
तिमीलाई पर्खिरह्यौं
पर्खिरह्यौं, पर्खिरह्यौं
शहरको प्रत्येक चोक गल्ली र मोडमा
भीडमा,
सुनसानमा र
चुपचापमा
तर नपाएर कतै
हामी लखतरान भएर
साँझ घर फक्यौं
र आँखा ओछयाएर हेरिरह्यौं
फेरि पनि तिमी आउन सक्ने
सम्भाव्य बाटाहरूमा

सुन्दैछु
तिमी सम्पूर्ण अभावहरूका विरुद्ध
एउटा युद्ध जितेर आइरहेछौ
सुन्दैछु--
तिमी कथित आस्थाहरूका विरुद्ध
एउटा प्रलय लिएर आइरहेछौ
आउनू तिमी कसै गरी पनि
तिमीलाई हाम्रो स्वागत छ
तर तिमी आउँदा
रोगीलाई दुई गोली औषधी र
हामीलाई भर-पेट खान दिने
बिहान लिएर आउनू
आङ ढाक्नलाई एकसरो लुगा र
रात काट्नलाई एउटा
वास लिएर आउनू
आउनू—
तिमी कसै गरी पनि आउनू
यो शरदले उजाड-निराश
तुल्याएको फूलबारीमा
वसन्त लिएर आउनू
ठिहीले लुगलुगाइरहेका
यी अनुहारहरूमा
असंख्य न्यानो घाम लिएर आउनू
आउनू--
तिमी कसै गरी पनि आउनू
अझै सक्छौ भने तिमी
सम्पूर्ण विश्वलाई एक तला
माथि उठाउने भएर आउनू ।

तिमी आउँदैछौ भन्ने सुनेर
हामी हर्षले उफ्रदै
माथि मचानमा उक्लेर
हेरिरह्यौं, हेरिरह्यौं
वाटोभरि आँखा ओछयाएर
बसिरह्यौं, बसिरह्यौं
मनभरि
सपनाको बिस्कुन सजाएर ।