भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिमी मेरि तिम्रो म भन्थें अगाडी… / शम्भुप्रसाद ढुङ्गेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी मेरि तिम्रो म भन्थें अगाडी…
भयें कर्मले धमै छाड्ने पछाडी ।
भयेको छु यस्ले म पाल् समान
वियोग्ले जली तैपनी जान्न ज्यान ।।१।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
परेको छ आजकाल खङ्गाष्ट नाडी ।
कठै ! गो कहाँ सव् रसीलो मिजाज
नजर् तर्दछ यौ प्रेमि भै व्यर्थ आज ।।२।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
गयौ निर्दयी भै कहाँ आज छाडी ।
म कस्का बसी साथमा दिल् बुझाऊँ
तिमी झैं हँसीली कहाँ आज पाऊँ ।।३।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
नजर्-शर् हरे ! मार्न लाग्यो पछाडी ।
टुटी मन् भयेको छ मेरो रवाना
कती साद्धछयौ निर्दयी भै निशाना ।।४।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
दियो दैवले दूर पारी पछाडी ।
तिमी ठुस्सियौ गर्धनी खाइ आयें
अनाहक्महाँ दुःख मात्रै उठायें ।।५।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
भयें क्वै न क्वै आजदेखी पछाडी
कहाँ वस्ति हौ रातदिन् छट्पटाई
यहाँ होश झन् छैन कत्ती मलाई ।।६।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
तिमीलाई खुस् गर्न वस्थें पछाडी ।
तिमी आजकाल् भै रहीछयौ विरानी
म चुप छु सवै दैवको खेल जानी ।।७।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
प¥यो बस्नु आज्काल् फगत् आँशु काडी ।
कहाँ गो मुहव्वत् कठै ! आज हाम्रो
वियोगले दुवैमाथि पार्यो नराम्रो ।।८।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
दुवैले पर्यो प्रेममा पस्नु झाडी ।
म एक्लो रमन्ता भई घुम्छु आज
तिमी मान्दछयौ जोगिनी वन्न लाज ।।९।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
प¥यो कर्मका फेरले जानु छाडी ।
नबिर्से तिमले मुहव्बत् कदापि
म ईमान छाडी हुनेछैन पापि ।।१०।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
खुसीले सबै चीज खान्थें म बाँडी
प¥यो हाय ! खप्नू कठिनको वियोग
जगत्को टुटयो की सबै आज भोग ।।११।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
गला लागि बस्थें रत्तीभर् नछाडी ।
टुटयो वज्र शिरमाथि फाटो गरायो
वियोगले ठूलो आँशुको भल् बगायो ।।१२।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
तिमी भै निठुर् दुःख पायें पछाडी ।
शरीर्मा वियोग्को विभूती रमायें
अलख् प्रेमको फेर् जगाऊँन आयें ।।१३।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
फुटयो प्रेमको चूर भै आज हाँडी ।
खस्यो चित्त भुङरामहाँ लर्खराई
कहाँतक् बसूँ हा ! कलेजा डढाई ।।१४।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
प¥यो आज वस्नू फगत् हात माडी ।
तिमी हेर्दिनौं प्रेम राखी पटक्क
म हुन्छू यसैले छिने झैं छटक्क ।।१५।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
सदा ध्यान गर्थे म तिम्रै पछाडी
हरे ! कालले आज दुश्मन् गरायो
ठूलो पेच हामी दुवैमा लडायो ।।१६।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
मुहव्वत् दियौ त्यो तिमीले विगाडी ।
फुटेको जुटायेर जुट्तैन काँच
वियोगको नभै भेट कम हुन्न आँच ।।१७।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
भयेको छु तिम्रो विरानू पछाडी ।
अलक्को झलक बन्द भो देख्नलाई
तिमी ठान्दछयौ हाय ! दुश्मन् मलाई ।।१८।।

तिमी मेरि तिम्रो म भन्थें अगाडी
गरें शोख जे जे थियो एक् नछाडी ।
हुँदामा तिमी निर्दयी आजकाल
परी वज्र खाईरहेछु हवाल ।।१९।।


(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)