भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिम्रो फोटो हेरिरहेछु / विमल गुरुङ
Kavita Kosh से
चाँदीजस्तो पानी गल्छिहरुबाट बगिरहेछ
हावा सिर्सिर चलिरहेछ
खोट छैन
मौसम मनोरम छ
दुवाली बनाएर माछाहरु छेकिरहेछु ।
घाँसका पातहरु जाडोले कामिरहेका छन्
टुक्राटुक्रा बसेर
हुस्सुहरु केहि सोचिरहेछन्
चिसो बतास चलिरहेछ
म सेतो गुराँसलाई तिम्रो कपालले बेरिरहेछु
म भावबिभोर भएर
पारि हरियो डाँडालाई हेरिरहेछु
तिम्रो फोटो नियालिरहेछु
तिम्रो फोटोमा डुबिरहेछु
पहाड, नदीनाला, बादल
अनि,
यी निष्पाप पंक्षीहरु हेरिरहेछु
प्रकृति तिमी किन यति सुन्दर छौ?
म प्रकृतीलाई सोधिरहेछु
म हर्षले बतासिंदै
स्वर्गको छेउ-कुना चहारिरहेछु
तिम्रो आकृति खडा हुन्छ एकाएक मेरो नेपथ्यमा
म,
आफ्नो पुस्तकको चेपबाट निकालिरहेछु तिम्रो फोटो
तिम्रो फोटो हेरिरहेछु ।