Last modified on 21 अगस्त 2020, at 17:58

तिम्रो याद आइरह्यो रातभर / फैज अहमद फैज / सुमन पोखरेल

तिम्रो याद आइरह्यो रातभर
जूनले मन दुखाइरह्यो रातभर
 
घरि बल्न खोज्दै, घरि निभ्न खोज्दै
चोटको दीप टिमटिमाइरह्यो रातभर
 
लुगा फेरिरह्यो एउटा सुवासले
एउटा तस्वीरले गाइरह्यो रातभर
 
चिसो बतासले गुलाफका हाँगामुनि
एउटा कथा सुनाइरह्यो रातभर
 
जो आएन त्यसैलाई ढोकाको साङ्लीले
आवाजैपिच्छे बोलाइरह्यो रातभर
 
एउटा आशाले फक्किइरह्यो मन
एउटा इच्छाले सताइरह्यो रातभर