भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो वर्तमानसँग मेरो विरोध छ / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अचम्भित छु दुःखी छु
हिजोआज शहीदहरूको सम्झनामा हुने मौन
पट्यारलाग्दो हुन थालेको छ
गम्म परेर फुलेका छन् प्रभुहरू
पुरस्कार र पद हत्याएर
अग्ला आकर्षक आसनहरूमा जमेका छन्,
छलीहरू, हत्याराहरू अनि ब्वाँसाहरू
परिस्थिति एकदम उल्टोपाल्टो हुँदै गएको छ
ठिही, सिरेटो र मृत्युको बीचमा पनि
अविचल इन्क्लाब गर्नेहरूको पक्षधर म
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।

चोरहरूकै ठूलो स्वर छ
काँतरहरूले वीरचक्र झुन्ड्याएका छन्
केही फरक छैन सफा र फोहोरमा
कुनै भिन्नता छैन इमान्दार र बेइमानमा
रङ्गीन स्यालहरू सम्राट् बनेका छन्
हात्ती, बाघ, भालु र सिंहहरू लुरूक्क छन्
जिन्दाबाद जिन्दाबादको नारा घन्काउँदै छन्
जे भन्यो त्यसैमा हो–हो–रे मिलाउँदै छन्
निष्ठामाथि बिस्टा पर्न थालेको छ
निष्ठावान्हरूको लाममा उभिन मन पराउने म
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।

गुरूहरू मुखियाहरू गाउँका
बाटो फोहोर गर्दै छन्
पैतालाले टेकेर नीति र सिद्धान्त
अन्धाधुन्ध दगुर्दै छन्
आँखा चिम्लेर पछ्याउनेहरूलाई,
अनुयायीहरूलाई अनि अन्धसमर्थकहरूलाई
स्वान्त सुखायः, बहुजनहितायः को
भारीभरकम उपदेश दिँदै
पतनको भासतिर जाकिँदै छन्
लक्ष्य हराएको छ, गन्तव्य हराएको छ
तिम्रो किंकर्तव्यविमूढतासँग मेरो विरोध छ
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।

लिलाम गरेर आदर्शका पहाडहरू
दरबार बनाउन थालेको छ
दौड चलिरहेको छ चलिरहेको छ
विचारको उच्चताभन्दा पिडौँलाका
दह्रोपना कामलाग्दो भएको छ
न माटाको माया छ,
न बाटाको विचार छ
घप्लक्क सम्पन्नताको कुहिरो ओडेका
दिशाहीनहरू
न कोही अनुकरणीय छ
न कोही अनुसरणीय छ
चारैतिर अन्यौलग्रस्तता छ
खुनीहरूले पोल्टामा हालेका छन्
वर्तमानलाई
बैगुनीहरूले मुट्ठीमा बन्द गरेका छन्
वर्तमानलाई
कृत्रिम व्यवहार र घमन्डले फुलेकाहरू
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।

असन्तुष्टि आँधीजस्तो भएर
उठेको छ छातीमा
नैराश्य प्रज्वलनशील पदार्थ भएर
बगेको छ रक्तनलिकाहरूमा
बारूदजस्तो प्रत्यक क्षण
धुवाउँदै छ आक्रोश मस्तिष्कमा
पतितहरूले
मुट्ठीमा बन्द गरेका छन् वर्तमानलाई
शकुनिहरूले
निर्देशित गरेका छन् वर्तमानलाई
म सबैभन्दा धेरै घृणा शकुनिलाई गर्छु
सम्झौता गर्न
किमार्थ सक्तिनँ तिम्रो पतनसँग
शकुनिहरू, ब्वाँसाहरू
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।

हत्याराहरूले रगतको खोलो बगाएर
समयलाई हत्केलामा बन्द गर्न खोजे
थुपारेर मानव–कङ्कालका उरूङहरू
विश्व–सम्राट् बन्न खोजे
भस्मीभूत बनाएर उडाए लाखौँलाई
अँध्यारो गुफा बनाएर
बन्द गर्न खोजे समयलाई
विचलन बोकेर मस्तिष्कभरिभरि
विकृतिको खिया पारेपछि चेतनामा
पचाएर लाज र सरमका उरूङहरू
तिम्रो छली आदर्शसँग मेरो विरोध छ
तिम्रो वर्तमानसँग मेरो विरोध छ ।