तिम्रो साम्राज्य / मक्भाला गोनास्भिली / सुमन पोखरेल
हृदयसम्म भिजाएको छ बर्सात्ले मलाई
एक्लोपनको पीडाले मरेतुल्य छ वसन्त पनि
म भने किन निराश भएर सम्झिरहेकी छु तिमीलाई ?
मेरा सपना साकार गराउने वाचा कसरी गर्न सकेथ्यौ तिमीले ?
उसो त अलिअलि जीवनजस्तै नै छ मेरो अस्तित्व
हुनलाई यो घर मेरै हो, मेरा पति र छोराछोरीसहितको, तर
अत्यन्त पृथक बतासका प्रबल झोँक्काहरूले घच्घच्याइरहने
तिम्रै तिलस्मी साम्राज्य छ यहाँ।
अर्कै तरिकाले आउने गर्छ बिहान यहाँ
बेग्लै किसिमका छाया लिएर आउँछन् कुहिरा र बादलहरू,
भाग्यले एकपल्ट फेरि भेट्न दिने हो भने हामीलाई
बहकिँदै गएका तिनै बादलजसरी बर्सिन तयार छु म ।
सँगै बिताएका ती बहुलठ्ठी दिनहरूका लागि कृतज्ञ छु म तिमीप्रति
आभारी छु, चोट र खुशीहरू दिएकामा, र फुत्त अलग्गिएकामा ।
एकपल्ट फेरि बाहिर निकालिलेऊ पिँजडाबाट मलाई
यौवन अन्त्यहीन छ भन्ने अनुभव गराइदेऊ, र
जोडिदेऊ टुक्रेको मेरो हृदयलाई !
तिमीलाई भन्न पनि सक्दिनँ, कति विघ्न असह्य भएको छ मलाई
काव्य बिनाको जीवन बाँचिरहेकी छु बर्सौँदेखि म
सुम्सुम्याऊ, र तिम्रा बलिष्ठ पाखुराका आँगालोले जीवित गराइदेऊ मलाई ।
मेरो सबैभन्दा प्यारो मान्छे, साह्रै नै धेरै सम्झन्छु म तिमीलाई
विश्वास गर मेरो, छोटो छ हाम्रो जीवनको यात्रा
र जसै गरे पनि, चाँडै नै माटामा परिवर्तित हुनेछौँ हामी
सम्पूर्ण जीवनभर तिमीलाई गरेकी हुँ प्रेम मैले, मेरो प्रिय !
जुन प्रेम ओइलाइरहेछ पीडा र विलापहरू बीच
कोही अर्कैसँगको सहयात्रामा।