भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तीस वर्ष अघि / प्रमोद स्नेही

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यही ढुङ्गे धारो
यही पाली भत्किएको पाटी
र यही दोबाटोको विषाक्त
एकान्तमा छोडेर भागेकी हुनुपर्छ
मलाई मेरी कुमारी आमाले

किन मलाई छाडेर भाग्दा
यी बाटोहरूले छेकेनन्
मेरी आमाको बाटो
किन यो विषाक्त एकान्त बिझेन
मेरी आमाको भाग्ने दोषी खुट्टाहरूमा
र किन यो ढुङ्गेधारोले
सारा-सारा बदनामी पखाल्यो
मेरी आमाको

यो बकैनाको सिपाही रूखले
मेरी आमा भाग्दा समाएन
मेरी आमाका अनगिन्ती
दाग लागेका पछ्यौरीहरू
पखाल्यो यो नीलो नदीले

यो दोबाटोको ल्याम्पोस्टले हेरिरह्यो
र देखाइरह्यो
ओझेल पर्दासम्म घुर्मैलो उज्यालोहरू
थाहा छैन किन -
समयले एकाएक आँखा चिम्ल्यो
मेरी आमा आफैँलाई छलेर
आफैँसँग भागेको बेला

यो जङ्गलको बाटैबाटो भाग्दा पनि
यो नदीको किनारैकिनार भग्दा पनि
कुनै राउटे दाजैले बोलाएनन्
कुनै माझी दाजैले सोधेनन्
बस्तीबस्ती छिचोलेर
खरबारी हुँदै भाग्दा पनि
किन फूल भइदिए मान्छेका मनहरू
किन पुल भइदिए मान्छेका विश्वासहरू
मैले त बुझ्न सकिरहेको छैन ।
मेरी आमाले छोडेर भागेको रात
किन चन्द्रमा लुक्यो बादलको कालो गुफामा

हो आज ३० वर्षछि
यो बकैनाको रूखमा झुन्डिएर
आत्महत्या गर्ने आइमाई
कतै मेरी आमा त होइनन् -
म सोचिरहेछु, म सोधिरहेछु
मेरी आमा भाग्दा चुपचाप भएर हेरिरहने
घातक समयलाई