त्यति टाढा बिहे नगर्दिनुस्, बुवा/ निर्मला पुतुल / सुमन पोखरेल
बुवा,
त्यति टाढा नगर्दिनुस् मेरो बिहे
जहाँ, मलाई भेट्न आउनुपर्दा
घरका बाख्रा बेच्नुपर्ने होस्, हजुरले !
नगर्दिनुस् बिहे त्यस ठाउँमा
जहाँ मान्छेभन्दा बढी
ईश्वरहरू बस्ने गर्छन् ।
जङ्गल, नदी पहाड छैनन् जहाँ
त्यहाँ मेरो कुरो छिनेर नआउनुस् ।
त्यहाँ त झन पटक्कै नगर्दिनुस्
जहाँका सडकमा
मापनभन्दा बढी बेगले कुद्ने गर्छन् मोटरगाडीहरू
अग्लाअग्ला महल
र पसलहरू हुन् ठूल्ठूला ।
त्यस्तो घरमा नजोडिदिनुस् मेरो नाता
जुन घरमा फराकिलो खुल्ला आँगन नहोस्
भालेको डाकमा जहाँ बिहान नउग्रियोस्
र जहाँ साँझ घरपछाडिबाट
डाँडामा अस्ताउँदै गरेको घाम नदेखियोस् ।
न नछान्नुस् त्यस्तो वर
जो जाँड र निगारको घ्याम्पोमा
डुबिरहन्छ अक्सर ।
जो अल्छी, काम नलाग्ने होस्
छट्टु होस् मेलाबाट तरुनीहरू भगाउनमा
त्यस्तो वर नछान्नुस् मेरा लागि ।
कुनै थाल-लोटा त हैन नि!
पछि चाहेको बेलामा फेर्न सकियोस्
काम नलाग्ने परेछ भने ।
जो कुराकुरामा
कुरा गरोस् लौरा र मुङ्ग्राको
निकालोस् तीर-धनुष र बञ्चरो
पत्तै नदिई हिँडोस् बङ्गाल, आसाम वा कश्मीरतिर
त्यस्तो वर चाहिँदैन मलाई ।
र त्यस्ताका हातमा नथमाइदिनुस् मेरा हात
जसका हातले कहिल्यै कुनै रुखका बिरूवा रोपेका नहुन्
फसल नउब्जाएका हुन् जुन हातले
जुन हातले दिएका नहुन् कहिल्यै कसैको साथ
कसैको भारी उचालिदिएका नहुन् ।
अरू त अरू
जुन हातले लेख्न नजानेको होस् ‘ह’ बाट हात
त्यस्ताका हातमा कहिल्यै पनि नथमाइदिनुस् मेरा हात ।
बिहे गरिदिने भए त्यहाँ गरिदिनुस्
जहाँ बिहान गएर
साँझ घर फर्किन सक्नुहोस् पैदल ।
म कुनैबेला दुःखमा रोएँ भनेँ वारिपट्टि
पारी किनारमा नुहाउँदै गरेको तपाईँ
सुनेर आउन सक्नुहोस् मेरो करुण विलाप...
महुआका लड्डु र
खजूरको सख्खर बनाएर पठाउन सकूँ कोशेली
हजुरका लागि
आउनेजाने कसैको हात लगाएर ।
पठाउन सकूँ फर्सी, लौका, चट्टेल, बोडी
बेलाबेलामा गोगोका लागि पनि ।
मेला हाट जाँदा
भेटियोस् कोही आफन्त
जसले भन्न सकोस् गाउँघरको हालचाल,
माली गाई ब्याएको खबर
सुनाउन सकोस् बाटो हिँड्ने जो कोहीले
त्यस्तो ठाउँमा बिहे गरिदिनुस् मलाई ।
त्यस्तो ठाउँमा बिहे गरिदिनुस्
जहाँ ईश्वर थोरै मान्छे धेरै बस्ने गर्छन् ।
बाख्रा र बाघ
एउटै घाटमा पानी खाने गर्छन् जहाँ
त्यहाँ बिहे गरिदिनुस् मलाई ।
त्यसैसँग बिहे गरदिनुस्
जो परेवाका जोडी र ढुकुरको जसरी
बसोस् सधैँ साथमा
घरभित्र-बाहिर र खेतमा काम गर्दादेखि
राती सुख-दुःख बाँडुन्जेलसम्म ।
खोज्नुस् वर यस्तो
जो बजाओस् बाँसुरी सुरिलो
र ढोल-मादल बजाउनमा होस् पारङ्गत ।
बसन्तका दिनमा ल्याओस् जसले सधैँ
मेरो चुल्ठोका लागि पलाशको फूल ।
जो खान नसकोस्
म भोकै रहेँ भने
त्यसैसँग बिहे गरिदिनुस् मलाई ।
......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।