भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यस रातको मृतकको अन्त्येष्ठी / लेकेश अगसन कट्टे / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिनीहरू आए र फर्किए
त्यसै रात।
संस्कारको महत्ता कायम राखे तिनीहरूले
बसिरहन हुँदैन थियो तिनीहरू त्यहाँ
किनभने त्यस रात मृतकलाई पुरेका थिए तिनीहरूले ।

तिनीहरूले कफिनलाई आफ्ना काँधमा बोके,
मृतकलाई गहिरो खाल्डोभित्र पुरे
शोक मनाउँदै ओर्तिर आए तिनीहरू,
र घर फर्किए ।


निर्दयतापूर्वक बलिरहेछ चुल्हो
भान्सा कोठामा
अतृप्त पेटको आगो निभाउनका लागि
निष्ठूरताका साथ पाक्दैछ खाना।

लाशलाई तिनीहरूले नै उठाएका हुनाले
केही गुनगुन भइरहेछ
पूजा कोठामा,
जुन माछा चलमलाए झैँ सुनिन्छ ।
अरूले गलत बुझे
मृत आमाका दुई छोरी रुनुका कारण ।


अँध्यारामा
जहाँ तिनकी आमाले बत्ती बाल्ने गर्थिन्
अड्किरहेछन् नमिलेका हिसाब
र आँशुले भरिएका कान्छी छोरीका आँखामा
नमिलेको उसको लेनदेनको गणित ।

झुन्डिएका एक जोडी सुनका मुन्द्री
मेरा बाले जितेका
र बग्गीका पाङ्ग्रा उचालेर
खुसी बनाएका तिनलाई।
कानमा लगाउने यो मुन्द्री कसको हो?
कसको हो यो फूली
र यो बाला?
एउटाले भन्यो, “मेरामा स्त्रीहरू मात्र भएकाले ती सबै मेरा हुन्”
अर्कोले थप्यो, “यी म राख्छु, पछि हुने मेरा बुहारीहरूका लागि”


बैङ्कको ऋण र ब्याजको भूत
तर्साउँदै
टुकीको मधुरो उज्यालामा बसेका चार जनाको टाउकालाई।
उज्यालो होउन्जेलमा पनि सकिएन
ठूलो चाहिँको लामो वासलात
अनवरत चुरोट तानिरहेथ्यो ऊ
कस्तो सजिलोसँग पाकेको हिसाब!
टुकीको वरिपरि बसेका तीनजनाका
निधारमा टल्किरहेका थिए पसिनाका थोपा ।


बुढो कुकुर कुइँकिरह्यो
घरको त्यही कुनामा।
बृद्धाले नपस्किएकी खानेकुरा
त्यसै टोलाइरह्यो कसैको स्पर्श नपाएर ।
कसैको ध्यानमा गएन बुहारीहरूले पस्किएको खानेकुरा।
मृतकको घरमा वर्जित छ
खाना र पानी ।
थालबाट अनुनय गर्दै
तात्तातो खानाको बास्ना
परेड खेलिरहेछ भान्सा कोठाभरि।