त्यो बगेको पानी दजला र फरातको / ईश्वरवल्लभ
कठोरतम आकाशमा नीला चोइटाहरू,
नमिलेको नस्याहारिएको
मेरो रुजु नगरिएको कोठाभरिको जिन्दगी मानिसको
रेखाहरूलाई पातला, झिना र चेप्टा बाटोहरूमा ओछ्याएर
बाँधेर नसच्याइएको अनुहारहरूमा
कहीँ खुम्चिएको
कहीँ अग्लिएको जिन्दगी मानिसको
लाइलाक र दशैँ फूलहरूको पातला बास्नामा
क्षितिजका शिखहरू नघाउँदै आफ्ना पहुँचले सागर सागरको
गम्भीरतामा छाल समात्दै
छाम्दै आफ्नो विश्वासले
नदीमा टाँस्सिएको लहरले
उचालेर काँधमा नोलसित परसम्म पुर्या एको
कमजोर हावाको पीठ्यूँमा भार
आकासको विशाल स्वतन्त्रताको मूर्ति
केवल मूर्ति मानिसको जिन्दगी ।
दजला अनि फरातका अनगन्ती सतहमा बगाएका
मानिसहरू पहाडमाथिको पर्दावाल डाँडामा
'कैथे'मा उभिएर, 'कैथे' मा ओच्छ्याएर आफैँलाई
हात, केवल हातका खालि र धरातलसम्म खालि गिलास ।
आफ्नो ठूलो छायालाई भित्तामा दिन्छ
चारकुने चार क्यूब र चौकोर परेको आफ्नो फ्रेममा ।
सधैँ पुड्किएर पनि अग्लिन चाहिरहेको,
सधैँ भास्सिएर पनि उभिन खोजिरहेको,
सधैँ प्रकाशका निर्जीव बिन्दुहरूलाई समातिरहेको
स्वतन्त्रताको मूर्ति ।
स्क्रुस्टेशियाको फोसिल
एलगीको फोसिल,
डेबोनियन गोहीको फोसिल
मानिसको हजार युगको फोसिल
मयमानवको कठोरतम फोसिल
भानुभक्तको मौन मूर्तिमा आँखा टाँस्छ, लिप्छ
सुमसुम्याउँछ दृष्टि ! कैथेबाट गिलास लिएर
त्यो सुरुको, त्यो आरम्भको
सबभन्दा सानु किरण
चौरस्ताको ओछ्यानमा
बैँसलाई प्रकाशमा दिएर डुब्छ, खेल्छ, चल्मलाउँछ
परिवेशलाई कुहिनाभरि टेक्छ ।
चित्राम्मे हात्ती, घोडा र फूलले, कपेका
कपेका पाखुराहरू
अझै उचालिन्छन् बीसौँ शताब्दीमा समय छोएर
अझै उचालिन्छन्
पहाड-पहाडका नाङ्गा ढुङ्गाहरूमा अल्झेका साउतीहरू
आह्वान अझै गर्छन्
चिओप्सलाई माइसेरिनस र चैपरनको लोलुपतालाई
केही मासुहरू,
केही अस्थिहरू,
केही मांसपेशीहरू,
केही आँखाका उज्यालाहरू,
चेप्टिन चाहन्छन् ढुङ्गामुनि अझै
सङ्गमरमरमा रगत टाँसेर नील नदीमा इतिहास बगाएर
महायुद्धको थकाइ जीउभरि लिएर
तर, केवल एउटा पिरामिड बनाएर
अझै पनि स्वतन्त्र हुन्छ,
बाध्यता उभ्याएर मानिसको जिन्दगी ।
गीतका पङ्क्तिहरू लेखिएर याद हुँदै जान्छन्
गीतका केही पङ्क्तिहरू !
गीतका अनेक ध्वनिहरू फैलिँदै जान्छन्
कामदेव रे रतिको पोइ राजा कामदेव
पर्दा खोल्दै किताप झार्छ आकाशको
हरेक युगको हरेक प्रद्धुम्नमा ।
थोरै घेरामा टाँगिइएको
क्यानभासकव पन्यालो रङ्गभित्र
आफ्नो जीउ र जीउभरिका आँखाहरू
आफ्ना आधा जिउलाई स्तम्भमा अस्तित्व दिएर
पूरा एक शताब्दी फेरि त्यसैमा एक कम आधा शताब्दी थपिदिएर ।
ओगटेका आफ्ना क्षणहरू मानिसमा सम्भाल्दै
तार्कोलमा उभिने डेढ शताब्दीलाई आफैमा, आफैँमा
प्रसार !
प्रसार
आफूभित्रको घेरालाई आयामलाई,
हावाले बुलुनलाई झैँ नफुटुञ्जेल ।
हत्केलामा किला ठोकेर झुण्ड्याइए टाँसेको मानिसलाई
सगरमाथामा अझै अग्लाइ दुई पाउ हिउँको ।
हजार संस्कृति कपेका दाग
बुट्टा कपेका पाखुराहरू
समयलाई अँध्यारोमा डुबाएर,
नीलोमा फ्याँकेर केही अक्षरहरू बेन्थेलमदेखिन जेरुसेलमसम्म
भूत, वर्तमान र भविष्यलाई सङ्केतमा केवल सङ्केतको सङ्केतमा
बाजाको ध्वनिमा शासन गर्छ मानिसको जिन्दगी ।