भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यो बाटो : हिजो र आज / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
अग्लो पहाडबाट ओर्लने एउटा बाटो
तिमीतिर आउने गर्थ्यो
स्वागतमा बोटहरूलाई
गुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमा
आत्मीयताको रङरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमा
भावुक अपनत्वले ओसिलो बनेको नागबेली बाटो
तिम्रै मनको परिसरजस्तो विशाल हुने गर्थ्यो
ओराली काटेर गाउँ टेक्नेबित्तिकै
स्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघि
आँगनको डिलमा–
मनभरि बर्सौँको प्रतीक्षाको थकान बोकेर
ओठभरि मेरो आगमनको मुस्कान बोकेर
उभिएकी हुन्थ्यौ तिमी
हर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थे
र बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना।
 
र धेरैपछि
त्यही बाटो हिँड्दै छु आज
उजाडउजाड बाटो
उदासउदास बाटो
नाङ्गिएका रुखहरूको कोलाज छ जताततै
अज्ञात भयको लहर मनभित्र
तिमीलाई भेट्ने बर्सौँपछिको उत्कण्ठाभन्दा
अझ डरलाग्दोसँग मडारिएको छ
थाहा छैन आइपुग्छु/आइपुग्दिनँ तिमीसम्म
थाहा छैन भेट हुन्छ/हुँदैन तिमीसँग
कहालीलाग्दा कल्पनाहरू समेटेर मनभरि
भयाक्रान्त आँखाहरू दौडाएर वनभरि
सोचको एउटा सुदूर कुनामा
ओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेर
म हिँडिरहेछु...
हिँडिरहेछु... ... ...।