भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यो मुस्कान / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मुस्कान देऊ,
मात्र त्यो मुस्कान,
जुन तिमीलाई देख्नासाथ
तप्कियोस् तिम्रो मुहारबाट
र ब्याप्तियोस् मेरो मनआँगनभरि
जसले जगाइदेओस्
सुषुप्त मेरो अँगालोको प्यास,
देऊ मायालु,
मलाई यही मुस्कान देऊ !
आकाश विशाल छ,

तर त्यो विशालतामा नअटाउने
आह ! कस्तो होला मेरो आश ?
त्यसैको केंद्रविन्दुमा
जुन ढुकढुक गर्छ
त्यही हो मेरो सास !
देऊ मायालु,
मलाई यही सास बिउँझाउने
त्यो मुस्कान देऊ !

बगेर कहिल्यै नसकिने
नदीको पानीजस्तो
पिएर कहिल्यै नरित्तिने
सागरभन्दा विचित्र
तिम्रो मायाको गागर,
मलाई उक्साउँदै,
त्यसैमा तैरिरहने
देऊ मायालु
मलाई मात्र तिम्रो त्यो
पवित्र मुस्कान देऊ !

हरेक बतासको छुवाईले
किन दिन्छ मलाई
शीतल चस्कोसरिको
तिम्रो त्यो झझल्को,
शायद, त्यसैमा छ कि
मेरो जन्मौंजन्मको तिर्खा मेटिने
जादुसमानको सुवास !
हो, त्यही सुवासको मुहुनी छर्ने
देऊ मायालु, मलाई
तिम्रो त्यो सौम्य मुस्कान देऊ !