भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यो स्वर / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


त्यो स्वरलाई पर्खेर छु ..

धानको फुल खेलिरहेको खेतबाट
सुगन्ध भएर आउने त्यो स्वर
जसले छोएपछि आफ्नै सास आफैलाई
भर्खरै नुहाएको उसको केश जस्तो मग्मगाउँछ

बजारको हजार रङ्गभन्दा भिन्दै त्यो
सायद आँसुको रङ्गसित मिल्छ
जिउँदो मासुसित झनै मिल्छ
अनि क्याक्टस फुल्ने ओसिसको बलौटे रङ्गसित पनि मिल्छ

आफ्नै अनेकौँ आकारहरूमा खुलिरहन्छ त्यो स्वर
जसलाई कुनै फ्रेमभित्र बाँधेर राख्न सकिँदैन..
वास्तुशिल्पी ! तिमी त्यो स्वरलाई
कुनै स्थापत्यमा स्थित गरिराख्न सक्तैनौ
तर त्यो कुनै अलौकिक स्वर चाहिँ होइन नि
नत्र किन यत्ति साह्रो मान्छे गन्हाउँछ त्यो
किन यत्ति धेरै आत्मीय हुन्छ त्यो
कि त्यसलाई म घरिघरि ‘मिस’ गरिरहन्छु

भनूँ भने त्यो स्वर
मेरो ढुकढुकीभन्दा भिन्दै छैन
र यो कुनै शब्दकोशको म्युजियमभित्र बन्द छैन
कुनै ध्वनिविज्ञानको कीबोर्डमा पनि बाँधिएको छैन
त्यो स्वतन्त्र र साहसी स्वर
मेरी प्रेमिकाको हो
एकाबिहानै घामका अक्षरहरूले
पहराको छातीमा लेखेको ताजा कविता हो
सप्फोको गीत या जेबुनिस्साको अन्त्यहीन आह हो

तर..
किन चुप छ हँ आज त्यो स्वर?
रोबोटहरू कहिल्यै नतुरिने बात मारिरहेका छन्
म भने कानै बहिरा पार्ने सन्नाटा सुनिरहेको छु
कतै भ्याक्युमभित्र त बसिराखेको छुइनँ म?

तर त्यसो हो भने चैं
कहाँबाट सुन्दैछु त मनिलाले गाएको त्यो गीत –
‘कति हो कति मायाको बाटो ..’

________________________________
सप्फो – प्रायः ६०० इशापूर्वको ग्रीस देशकी एक प्रसिद्ध कवयित्रीको नाम।
जेबुनिस्सा – मुगल सम्राट औरंगजेबकी छोरी जसको गोप्य प्रेम, एक किम्बदन्ती अनुसार, दरबारकै एक कवि-भारादारसित थियो।