भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

थोप्लो अर्थात् डट / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सानो थोप्लो त हो नि भनेर
खेलाँची गर्नु हुँदैन है
थोप्लोको शक्ति थाह छैन कि क्या हो?

डम्म बसेर डङ्क पिट्ने ‘ड’ छ नि
त्यसको दाहिनेपट्टि बसेर त्यो थोप्लोले
ड-लाई विनम्र ङ बनाइदिन्छ
अनि त्यसको डरलाग्दो स्वर
एकछिनमै नरम नाके स्वर भइदिन्छ

कुनै पनि अक्षरको टाउकोमाथि बसेर
त्यो इत्रु थोप्लोले
शब्दकै ध्वनि र अर्थ बद्लाइदिनसक्छ
बेरोकटोक नानावली बकेकोबकेकै गर्ने वाक्यलाई
यदि कसैले रोक्ने आँट नगरे
त्यै नपत्याउँदो थोप्लो नडराइकन
फुलस्टप भएर बस्छ त्यो वाक्यको बाटोमा
या त अरु पनि थोप्लाहरू थपिएर
डट डट डट डट....भइदिन्छ त्यो वाक्यको पछिल्तिर
यसरी पछिल्तिर डट डट डट बसेका थोप्लाहरूले
अनन्त सम्भावनाहरू बोकेका हुन्छन्

डटपेनको टुप्पोमा बसेर
त्यो डटले केके पो गरेको छैन र !

इत्रु डट अर्थात् थोप्लो त हो भनेर
खेलाँची गर्नु हुँदैन नि !
थोप्लाहरू ठूलो समूहमा थुप्रिए भने
शब्दहरू छोपिएर हराउन सक्छन्
थोप्लाहरू सुनियोजित निर्माणमा लागे भने
अनेक रेखाहरू खिँचिदै यौटा विराट आकृति उठ्नसक्छ
र त्यो आकृतिबाट
हामी कोही पनि अप्रभावित रहन सक्तैनौँ

नाथु थोप्लो त हो भनेर
हेप्नु पटक्कै हुँदैन
थोप्लो भनेको अणुपुन्ज हो
आणविक शक्तिसम्पन्न !