भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

दशरथको व्यथा / पोषण पाण्डे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीले हान्यौ हात्ती ठानेर
तर पर्‍यो ठहरै श्रवणकुमार
प्यासले छटपटाउँदै, छटपटाउँदै
उसका अन्धा बाबु र आमा
एउटै चितामा जले

त्यो चिताको लपलपाउँदो ज्वाला
त्यो त्यस्तै थ्यो
जस्तो कि
तिमीले कम्मरमा भिर्ने
ओजस्वी
तेजिलो तलवार

पापले छोडेन तिमीलाई पनि
पापले पोल्यो तिमीलाई पनि
रामलाई मिल्यो चौध वर्ष वनवास,
तिमीलाई ‘हा राम । राम ।।’

आगोले पोल्छ झ्वाट्टै
पोलेर खरानी पारिहाल्छ
पापले त पोलिरहन्छ
ज्युँदै पनि कता हो कता
पोली नै पोलिरहन्छ

हो, हानेको तिमीले होइन
हानेको हो भ्रम–राक्षसले
तर अचम्म ।
श्रापबाट मुक्त राक्षस छ
श्रापबाट ग्रस्त तिमी

हो, जानाजान पाप हुँदैन
भ्रमले पाप उब्जाउँछ
त्यसैले त कहिलेकाहीँ
आफूले आफैलाई हेर्नुपर्छ
आफूले आफैलाई छाम्नुपर्छ

कहीँ भ्रम–राक्षसले आँखामा
जालो उनिदि’ सकेको त छैन
कहीँ पाप भित्रभित्रै लुकेर
लिसोजस्तै टाँसिइसकेको त छैन...

हुन त, तिमी कहाँ पाप गर्छौ र
कसैले कहाँ पाप गर्छ र
त्यसैले त—
तिमीले हान्यौ हात्ती ठानेर
तर पर्यो ठहरै श्रवणकुमार